Logo

सुनको मूल्य बढ्दा आयात ६० प्रतिशतले घट्यो, ५० प्रतिशत व्यवसायी पलायन हुँदा १ लाखले गुमाए रोजगारी

सुनको मूल्य बढ्दा आयात ६० प्रतिशतले घट्यो, ५० प्रतिशत व्यवसायी पलायन हुँदा १ लाखले गुमाए रोजगारी



काठमाडौं । सामान्यतया भन्ने गरिन्छ–कुनै पनि बस्तुको मूल्य बढ्दा त्यसले फाइदा पुर्याउँछ । तर, नेपालको सुनचाँदी व्यवसायमा भने उक्त भनाई उल्टो हुन पुगेको छ । केही समययता लगातार उकालो लागेको सुनको मूल्यको कारण उक्त व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको छ ।

laxmi

दैनिक रुपमा जति सुनको मूल्य बढ्दै गएको छ त्यति नै सुन खरिद गर्नेभन्दा बिक्री गर्ने ग्राहकको संख्या बढेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । अहिले सुन पसल खोल्ने बित्तिकै सुन खरिद गर्नेभन्दा पनि बिक्री गर्ने ग्राहकहरु आउने क्रम बढेको उनीहरुको गुनासो छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने पनि आर्थिक बर्ष २०७६÷७७ मा सुन आयात ६० प्रतिशतले घट्न पुगेको छ । आर्थिक बर्ष २०७५-७६ मा ३४ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सुन आयात भएको थियो । तर गत आबमा आईपुग्दा १३ अर्ब ६३ करोड रुपैयाँ बराबरको मात्रै सुन आयात भएको छ ।

विश्वभर फैलिएको कोरोना संक्रमण तथा उच्च रुपमा उकासिएको सुनको मुल्यका कारण सुनचाँदी व्यवसायीहरु पलायन हुन थालिसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्लय बताउँछन् । ‘एकातिर कोरोना पछिको लकडाउन तथा निषेधाज्ञाका कारण पसल खोल्न पाइएको छैन भने अर्कोतर्फ पसल खोलेपनि दैनिक रुपमा बढेको सुनको मूल्यका कारण खरिद गर्ने ग्राहक नै छ्रैनन्,’ उनले भने, ‘जसका कारण साना व्यवसायीहरु पलायन नै भैसके भने ठूला व्यवसायीहरु पनि अब पसलको भाडा तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।

नेपालभर हालसम्म २२ हजार सुनचाँदी व्यवसायीले दर्ता गराएर व्यवसाय गर्दै आएका छन् भने करिव ३ हजारजति व्यवसायीले विना दर्ता नै पसल संचालन गर्दै आएका थिए । तीमध्ये अहिलेको अवस्थासम्म आईपुग्दा करिव ५० प्रतिशत अर्थात १० देखि १२ हजार व्यवसायी नै पलायन भैसकेको उनको बुझाई छ ।

‘अहिले सामान्य सटर लिएर वा केही ऋणधन गरेर व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु कोरोना र बढ्दो मूल्यका कारण सुन नै बिक्री हुन छाडेपछि व्यवसाय नै छाडेर बसेका छन्,’ उनले भने, ‘धेरैजसो व्यवसायीहरु गाउँ फर्क अभियानमा लाग्नु भएको छ भने उक्त क्षेत्रमा काम गर्ने कालिगढहरु पनि बेरोजार हुन पुगेका छन् ।’ अहिले केही ठूला व्यवसायी सटर भाडा तिर्न नसकेर तनावमा छन् भने साना व्यवसायीहरु सटर नै छाडेर आफुसँग भएका केही गरगहना बोकेर गाउँ फर्किएको समेत उनले जानकारी दिए ।

उनका अनुसार सुनचाँदी व्यवसायमा नेपाली र भातीय गरी २ लाख कामदारहरु आवद्ध थिए । तर पछिल्लो अवस्थाले १ लाखभन्दा बढीले रोजगारी नै गुमाएर थातथलो फर्किसकेको उनको भनाई थियो । नेपाली सुनचाँदी व्यवसायमा सबैभन्दा बढी भारतीय कालिगढ थिए । तर, कोरोनापछि उनीहरुले रोजगारी नै छाडेर आफ्नै देश फर्किएको समेत उनले जानकारी दिए ।

साथै नेपाली कालिगढहरु पनि अहिले कामविहिन भएर बस्नु परेको उनले बताए । ‘सुनचाँदी व्यवसायमा कालिगढहरुले मासिक तलब भन्दा पनि ज्यालको आधारमा काम गर्दै आएका थिए, कामै नभएपछि कसरी ज्याला दिनु,’ उनले भने, ‘अहिले यस क्षेत्रमा काम गर्ने कालिगढहरु सबै काम बिहिनको अवस्थामा बस्नु परेको छ ।’

लकडाउन खुलेर कोरोना सामान्य अवस्थामा आएपनि मूल्य नघटेसम्म नेपालमा सुनचाँदी व्यवसायले गति नलिने उनको तर्क छ । ‘जति सुन बिक्री भयो त्यति नै व्यवसाय चल्ने हो,’ उनले भने, ‘अहिले सुनको मूल्य बढेर नेपाली उपभोक्ताले किन्ने नसक्ने अवस्थामा पुगेको छ यस्तो अवस्थामा कसरी व्यवसाय चल्छ ?’

पछिल्लो समय सुनको मूल्य बढ्ने तर ग्राहकको क्रयशक्तिमा ह्वात्तै ह्रास आएकाले पनि यस व्यवसायले गति लिन समय लाग्ने उनको तर्क थियो । बिवाहको सिजनमा दैनिक ५० किलोभन्दा सुन बिक्री हुँदै आएकोमा अहिले उक्त सिजनमा दैनिक ४-५ किलो सुनसमेत बिक्री हुन छाडेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL