Logo

निजी क्षेत्रलाई प्रोत्साहन गरेर औद्योगिक विकास गर्ने रणनीतिमा सरकार लागेको मन्त्री भट्टको दाबी

निजी क्षेत्रलाई प्रोत्साहन गरेर औद्योगिक विकास गर्ने रणनीतिमा सरकार लागेको मन्त्री भट्टको दाबी



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग विकासका लागि आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । शनिबार साँझ हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग सङ्घका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । मन्त्री भट्टले विदेशी लगानी भित्र्याउन लागिपर्दा स्वदेशी लगानीकर्ता निरास भएको बताए ।

मन्त्री भट्टले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर औद्योगिक विकास गर्ने रणनीति अघि सारेको बताउँदै राष्ट्रलाई उद्योगमार्फत आत्मनिर्भर बनाउने दिशामा सरकार लागिपरेको जानकारी दिए । सङ्घीय सरकारले नीति निर्माण मात्र गर्ने र अबको दिनमा औद्योगिक क्षेत्र प्रदेश सरकारलाई जिम्मा लिने विषयमा समेत छलफल भइरहेको उनको भनाइ छ । बीस वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका विषयमा पनि छिट्टै निर्णय हुने उनले बताए ।

लगातार घाटामा गएपछि तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको हेटौँडा कपडा उद्योगमा हाल सशस्त्र प्रहरी नेपाल गण नं १४ को कार्यालय रहेको छ । उद्योगमा हाल करीब तीन सय सशस्त्र प्रहरी बस्ने गरेका छन् । कपडा उद्योगमा ४८६ कपडा बुन्ने तान र १४ हजार ६८८ स्पिण्डल रहेको छ ।

मन्त्री भट्ट, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलगायतको टोलीले हेटौँडा सिमेन्ट उद्योग पनि निरीक्षण गरेको थियो । मन्त्री भट्टले हेटौँडा औद्योगिक क्षेत्रमा रहेको क्यालिब्रेशन टावरको पनि निरीक्षण गरे । तेल बोक्ने टङ्याकरको गुणस्तर मापन गर्ने क्यालिब्रेसन टावर हेटौँडामा निर्माण गरेपछि भारतको रक्सौलमा जानुपर्ने बाध्यता हटेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL