Logo

उखु किसानको बक्यौता भुक्तानी नगर्ने तीनवटा चिनी उद्योगको कारोबार रोक्का

उखु किसानको बक्यौता भुक्तानी नगर्ने तीनवटा चिनी उद्योगको कारोबार रोक्का



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता भुक्तानी नगर्ने तीनवटा चिनी उद्योगको खाता रोक्का गर्ने निर्णय गरेको छ । मन्त्रालयले उखु किसानलाई तोकिएको समयभित्र बक्यौता भुक्तानीका लागि पहलसमेत नगरेको भन्दै अन्नपूर्ण सुगर मिल, इन्दिरा सुगर मिल र लुम्बिनी सुगर मिलको सम्पूर्ण कारोबार तथा बैंक खातासमेत रोक्का गर्नका लागि आजै सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेरै किसानको रकम भुक्तानी नगर्ने उद्योगविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताउँदै अन्य परियोजनामा समेत लगानी गर्न रोक लगाउने, गृह मन्त्रालयलाई लेखि पठाउने तथा आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने बताएको छ ।

मन्त्रालयले अन्नपूर्ण सुगर मिल र ईन्दिरा सुगर मिललाई किसानको सबै पैसा भुक्तानी गर्न केही दिन अघिमात्रै चिठी लेखेको थियो । यस्तै मन्त्रालयले लुम्बिनी सुगर मिल पनि सम्पर्कमा नआएपछि सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्र काटेको थियो । हाल अन्नपुर्ण सुगर मिलले किसानलाई ४० करोड रुपैयाँ बुझाउनु छ । तर हालसम्म ३ करोड ९० लाख रुपैयाँ मात्रै बुझाएकाले सबै रकम बुझाउन मन्त्रालयले ताकेता गरेको हो ।

ईन्दिरा सुगर मिलले भने किसानलाई ७४ लाख रुपैयाँ मात्रै दिएको मन्त्रालयले जानकारी दिएको छ । अन्नपूर्ण र ईन्दिरा सुगर मिलले किसानको धेरै पैसा दिन बाँकी छ । तर केही पैसा मात्रै किसानलाई बुझाएपछि मन्त्रालयले सबै पैसा बुझाउनका लागि ताकेता गरेको हो । कतिपय किसानले विगत ६ बर्षदेखि उखुको पैसा पाएका छैनन ।

उखु किसानले काठमाडौंमै आएर पैसा भुक्तानीका लागि धर्ना बसेपछि उद्योगीले माघ ७ गतेसम्म पैसा बुझाउने प्रतिवद्धता जनाएका थिए । तर उक्त म्याद सकिदा पनि कतिपय उद्योगीहरु सम्पर्कमा पनि आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL