Logo

चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार, बिकास निर्माणमा योगदान

चौधरीलाई ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी’ पुरस्कार, बिकास निर्माणमा योगदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । चौधरी ग्रुप तथा चौधरी फाउन्डेसनका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई राजीव गान्धी फाउन्डेसनले ‘फिलान्थ्रोपिस्ट तथा युवा उद्यमी पुरस्कार २०१७’ बाट सम्मानित गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार आयोजित समारोहमा चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको विकासका लागि विशेष योगदान पुर्याएबापत चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

‘तपाईंले आफ्नो राष्ट्रको उन्नतिका लागि पुर्याउनुभएको योगदान देख्दा हामीलाई गर्व लाग्छ । आफ्नो राष्ट्रका लागि तपाईंले गर्नुभएको असाधारण र उल्लेखनीय कामहरुको हामी स्मरण गरिरहनेछौं,’ पुरस्कार प्रदान गर्दै राजीव गान्धी फाउन्डेसनले भनेको छ ।
निर्वाण चौधरीको नेतृत्वमा चौधरी ग्रुपको मानव कल्याणकारी निकाय चौधरी फाउन्डेसनले नेपालमा मानवकल्याण र सामाजिक सेवाका क्षेत्रमा विशिष्ट परिणाममुखी योजनाहरु क्रियान्वित गरिरहेको सन्दर्भमा उक्त पुरस्कार प्रदान गरिएको हो । ‘आफ्नो देशको विकासका क्षेत्रमा तपाईंले हासिल गर्नुभएको उपलब्धी, तपाईंको लगन, निष्ठा र योगदानको कदरस्वरुप तपाईंलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो,’ पुरस्कारको कदरपत्रमा भनिएको छ ।

भूकम्पपश्चात अति प्रभावित क्षेत्रहरुमा तत्काल राहत कार्यक्रमहरु र सिजी आश्रय तथा सिजी शिक्षालयमार्फत तत्काल पुनस्र्थापनाको विकल्प उपलब्ध गराएकोमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न संघसंस्थाले चौधरी फाउन्डेसन र यसको नेतृत्वलाई सम्मानित गर्दै आएका छन् । हालसम्म फाउन्डेसनले करीब ३ हजार ट्रान्जिसनल होम र ४० विद्यालय भवन बनाई भूकम्पप्रभावित स्थानीय समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

भूतपूर्व भारतीय प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको स्मरणमा सन् १९९१ जुन २१ मा स्थापित राजीव गान्धी फाउन्डेसनले भारतमा स्वास्थ्य, साक्षरता, विज्ञान तथा प्रविधि, महिला तथा बालबालिका, प्राकृतिक सम्पदाको व्यवस्थापन आदि क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ । श्रीमती सोनिया गान्धी अध्यक्ष रहेको उक्त फाउन्डेसनमा डा. मनमोहन सिंह, पी चिदम्बरम, मोन्टेक सिंह अहलुवालिया, राहुल गान्धीलगायतका व्यक्तिहरु ट्रष्ट्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL