काठमाडौं । महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।
देशभर सुरक्षाकर्मीलाई व्यापक रूपमा परिचालन गरेसँगै आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न स्थानमा तोडफोड र चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ परेका छन्।
डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधि गर्ने समूह सुरक्षाकर्मीलाई देखेपछि फरार हुन खोज्दा नेपाली रुपैयाँ २ लाख ३२ हजार ५ सय र अमेरिकी डलर २५ सय बरामद गरिएको सेनाले जानकारी दिएको छ।
त्यस्तै, लुटिएका मध्ये थप १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार सुरक्षाकर्मीले फिर्ता पारेका छन्।
साथै, डडेलधुरा जिल्ला कारागारबाट भागेका कैदीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ भने काठमाडौंको डिल्लीबजार सदर कारागारबाट भाग्ने प्रयाससमेत सुरक्षाकर्मीले रोक्न सफल भएका छन्।