काठमाडौं । भ्रष्टाचारको विरोध र परिवर्तनको नारासहित शुरु भएको जेनजी आन्दोलनले राजनीतिक रुपमा परिवर्तनको नयाँ बाटो देखाएको छ । सामाजिक सञ्जाल बन्दपछि सरकारविरुद्धको आक्रोशलाई आन्दोलनमा बदलेको जेनजीको अभियानले सोमबार शुरुवात भएर मंगलबार आफ्नो मागअअनुसारको लक्ष्य प्राप्त गरेको थियो ।
प्रधानमन्त्री र मन्त्रीहरु राजीनामा दिएर लुक्नुपरेकको अवस्था आइसकेको छ । सोमबारको आन्दोलनमा ठूलो मानवीय क्षतिपछिको आक्रोशले सडकमा सिर्जना गरेको व्यापक आन्दोलनको बलमा मंगलबार देशका प्रमुख तीनै अंग अहिले जेनजीको हातमा आएका छन् । यसलाई जेनजी आन्दोलनको परिणाम नै मान्नुपर्छ । यद्यपि मंगलबार प्रधानमन्त्रीको राजीनामा पछि सरकारी निजी सम्पत्तिमा आगजनी र लुटपाटको ऋङ्खला चलिरहेको छ । त्यसले देशमा अराजकता सिर्जना भएको छ ।
देश नेतृत्वविहनि देखिएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् । काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन्सी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् ।
उद्योगीहरुको घर उद्योग र व्यापार व्यवसायमा आगजनी र आक्रमण भएको छ । जसबाट देशको अर्बौ सम्पत्ति क्षति भएको छ । जेनजीहरुले उद्देश्य प्राप्त भएको भन्दै आन्दोलन रोक्न आह्वान गरेपनि अराजक समूहले आतंक सिर्जना गरेका छन् । यसले आन्दोलनमा घुसपैठ भएको स्पष्ट देखिन्छ । अहिले सामाजिक व्यक्तित्व, अभियन्ता तथा कलाकारसम्मले आगजनी र आक्रमण रोक्न आह्वान गरेपनि नरोकिएको अवस्था छ ।, नेपाल पुलिस, नेपाली सेनाले समेत अराजकता रोक्न सहयोग मागिरहेका छन् ।
निजी क्षेत्रमाथि गम्भीर आक्रमण
मंगलबारकै प्रर्दशनीका क्रममा निजी क्षेत्रमाथिसमेत गम्भीर आक्रमण भएको छ । देशका प्रमुख उद्योगी–व्यवसायीका संरचनामाथिसमेत भएको आक्रमण, तोडफोड र लुटपाटका कारण खर्बौ रुपैयाँको क्षति पुगेको अवस्था छ । नेपालका प्रमुख उद्यमी व्यवसायीका रुपमा खर्बौ लगानी र लाखौं रोजगारी दिइरहेका बिनोद चौधरी, चन्द्र ढकाल, मीनबहादुर गुरुङ, शेखर गोल्छा,जस्ता उद्योगी व्यवसायीलगायतका संरचनामाथि आक्रमण भएको छ । देशको सबैभन्दा ठूलो सुपरमार्केट चेनका रुपमा रहेको भाटभटेनीका स्टोरहरुमा ठूलो क्षति पुगेको छ । हिल्टन होटल जलेको छ । विभिन्न बैंकका शाखाहरु जलाइएका र लुटिएका छन् ।
भाटभटेनीमा प्रदर्शनकारीहरुले आक्रमण, आगजनी र लुटपाट गर्दा अर्बौको क्षति भएको छ । देशका मुख्य स्थानहरुमा रहेका १७ बढी भाटभटेनी सुपरस्टोरहरुमा लुटपाट, तोडफोड र आगजनीका घटनाबाट करिब ३० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ । आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले करोडौं मूल्यका वस्तुहरु लुटेर लगेका छन् । नेपाल उद्योग वाणिज् महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएम ग्रुपले सञ्चालन गरिरहेको चन्द्रागिरी केबककारमा आक्रमण हुँदा ठूलो क्षति भएको छ । यस्तै नेपालका एकमात्र डलर अर्बपतिका रुपमा चिनिएका उद्योगी विनोद चौधरकिो उद्योग र निजी निवासमा समेत आगजनी र लुटपाट भएको छ ।
आन्दोलनले सुरुमा शान्तिपूर्ण रुप लिए पनि पछि उग्र बन्दै गएपछि प्रदर्शनकारीहरुले संसद भवन नजिकैबाट सुरु गरेको जुलुसले काठमाडौंका विभिन्न भागहरुमा फैलिँदा निजी सम्पत्तिहरुमा आक्रमण गरेका छन् । भाटभटेनी सुपरस्टोरहरु यस आन्दोलनको मुख्य निशाना बनेका छन् । भाटभटेनीका मुख्य स्टोरहरु नक्साल र कोटेश्वरमा सबैभन्दा बढी क्षति भएको छ । नक्सालको स्टोरमा प्रदर्शनकारीहरुले प्रवेश गरी सामानहरु लुटेर लगेका छन् भने कोटेश्वरको स्टोरमा आगजनी समेत भएको छ । यसबाहेक, चुच्चेपाटी, टोखा, बालाजु र कलंकीका भाटभटेनी सुपरस्टोरहरुमा पनि तोडफोड र लुटपाट भएको छ । मोफसल क्षेत्रहरु जस्तै विराटनगर, पोखरा र अन्य ठाउँका स्टोरहरुमा समेत आगजनी गरिएको स्रोतको भनाई छ । स्रोतका अनुसार, यी घटनाहरुमा प्रदर्शनकारीहरुले खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, कपडा र अन्य दैनिक उपभोग्य वस्तुहरु करोडौं मूल्यका लुटेर लगेका छन् ।
यो घटना यसअघि केही महिनाअघि राजावादीहरुको आन्दोलनमा पनि भएको थियो । राजावादी प्रदर्शनकारीहरुले पनि भाटभटेनी सुपरस्टोरहरुलाई निशाना बनाएका थिए, जसमा कोटेश्वर र अन्य स्थानहरुमा लुटपाट भएको थियो । आन्दोलनकारीहरुको अराजकताले राष्ट्रिय सम्पदाहरु जस्तै संसद भवन नजिकका संरचनाहरु, कारखानाहरु र अन्य निजी क्षेत्रका अर्बौं मूल्यका सम्पत्तिहरु ध्वस्त भएका छन् । प्रदर्शनकारीहरुले सडकमा टायर बाल्दै, ढुंगा हान्दै र सामानहरु लुट्दै गर्दा देशको अर्थतन्त्रमा ठूलो असर परेको छ । जेन जी पुस्ताका युवाहरुले यो आन्दोलनलाई भ्रष्टाचारविरुद्धको क्रान्ति भनेका छन्, तर यसले अराजकता निम्त्याएको छ । भाटभटेनी सुपरस्टोरहरु जस्ता निजी व्यवसायहरु यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । स्टोरहरु पुनः सञ्चालन गर्न बर्षौंलाग्न सक्छ र यसबाट हजारौं रोजगारीहरु प्रभावित भएका छन् ।
भाटभटेनी एउटा उदाहरण भएपनि निजी क्षेत्रमाथिको आक्रमणले देशमा निजी क्षेत्रलाई थप लगानी गर्न निरुत्साहित गर्नेछ । जसको असर देशमा नयाँ रोजगारी सृजना हुनेछैन् भने उद्योगी व्यवसायी देशबाट पलायन हुनेछ । यस्तो अवस्थामा वैदेशिक लगानी भित्र्याउने परिकल्पना थप टाढा बन्नेछ ।
अर्कोतर्फ उद्योगीहरुका संरचनामा भएका आक्रमणले स्वंय जनताको सम्पत्तिमाथिको पनि आक्रमण हो । झट्ट हेर्दा कुनै एक व्यवसायी वा व्यक्ति माथिको आक्रमण देखिएपनि अधिकांश निजी उद्योग र कम्पनीहरुमा जनताकै सेयर हुने, बैकको भएकाले ती सम्पत्तिमा पुगेको क्षति जनताकै सम्पत्तिमा भएको क्षति हो । यस्तोमा अहिले देशभर देखिएको अराजकता रोक्न सबै पक्षले आ–आफ्नो स्थानबाट तत्काल भूमिका निर्वाह गरौं । देश बचाऔं ।