Logo

जेनजीको आन्दोलन : बैंकिङ शाखा र एटीएममा असर, क्षतिको विवरण आइनसकेको बैंकर्स संघको भनाई

जेनजीको आन्दोलन : बैंकिङ शाखा र एटीएममा असर, क्षतिको विवरण आइनसकेको बैंकर्स संघको भनाई



काठमाडौं । सोमबार शुरु भएर जेनजी आन्दोलनको दोश्रो दिन मंगलबार देशभर भएको प्रदर्शन तोडफोड र आगजनीको कारण केही बैंकको शाखामा असर पुगेको छ भने धेरै एटीएमहरु तोडफोड भएका छन् । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जेनजीको आन्दोलनको असर कति बैंकका शाखा र एटीएममा असर परेको छ भन्ने हालसम्म एकिन नभएको बताएका छन् ।

‘बैंकका केही शाखा कार्यालयहरु र धेरै एटीएमहरु तेडफोड भएको कुरा आएको छ’ उनले भने, ‘हालसम्म एकिन विवरण नआएको छैन ।’ उनकाअनुसार आज बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय बन्द भएकाले एकिन विवरण आउन नसकेको हो ।

सरकारी कार्यालयमा आगजनी हुँदा सरकारी कार्यालयमा रहेको बैंकहरुको सेवाकेन्द्रहरु भने पूर्ण रुपमा क्षतिग्रस्त भएको कोइरालाले बताए । ‘सरकारी अफिसमा भएका एक्सटेन्सन काउन्ट र एटीएमहरु बढी तोडफोट भएका छन् । अन्य केही शाखा र एटीएममा पनि ढुंगामुढा भएको छन् । तर नगद नै लुटपाट भयो भन्ने सूचना आएको छैन ।’

मंगलबार साँझ राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोडको प्रयास भए पनि संलग्नलाई नेपाली सेनाले नियन्त्रणमा लिएकाले नगद सुरक्षित रहेको छ । यस्तै, प्रदर्शनकारीले आगजनी गरेका भाटभटेनी स्टोर्सलगायतका स्थानमा रहेका केही एटिएममा क्षति पुगेको बैंकर्स संघले जनाएको छ ।

तथापि, बैंकिङ प्रणाली भने सुरक्षित रहेको उनले बताए । उनले बैंकिङ सिस्टमलाई असर नपरेको बताए । साथै, कुनै मानविय क्षति नभएको उनको भनाईछ । विषम परिस्थिती सहज भएपछि मात्रै बैंकहरुका कार्यालयहरु सञ्चालनमा आउने उनको भनाईछ ।

प्रतिक्रिया दिनुहोस्