काठमाडौं । बिशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा भाटभटेनी समूह, उमेश श्रेष्ठलगायतको टिमले त्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने भएका छन् । बुधबार एक कार्यक्रमका बीच भाटभटेनी समूह, श्रेष्ठलगायतको संयुक्त पहल तथा लगानीमा स्थापना गर्न लागिएको अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास भएको हो ।
यो नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको तथा नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको भाटभटेनी समूहले बताएको छ ।
उद्योगले करिब १,२०० रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको भने मुख्यतया स्थानीय जनशक्ति तथा यस क्षेत्रको आर्थिक विकासमा योगदान दिने बताइएको छ ।
अन्तरास्ट्रिय मापदण्डमा तयार गरिने उद्योग आधुनिक मेसिनरी, स्वास्थ सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै १ मेगावाट भन्दा बढीको सौर्य उर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण हुनेछ ।
उद्योगले बिशेषत भाटभटेनीका स्टोरहरु मार्फत स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगले उत्पादनमा विविधता र क्षमता विस्तार गर्दै लाने र थप रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।
‘परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्न मात्र होइन, नेपालका औद्योगिक नीतिहरू र वातावरण सुधार हुदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने बिश्वास पनि लिएको छ । यसले आर्थिक वृद्धिलाई तीव्रता दिने, विदेशी लगानी आकर्षित गर्ने र नेपाललाई दिगो औद्योगिक केन्द्रको रूपमा स्थापित गर्ने विश्वास पनि दिलाएको छ’, समूहले उल्लेख गरेको छ ।
नेपालमा वार्षिक ५० अर्ब भन्दा बढीको तयारी पोशाकको बजार रहेको भएपनि मुख्य हिस्सा भने आयातित बजारले ओगेटेको छ । यस्तोमा नेपालमा तयारी पोशाक उत्पादन र बजारको असीमित सम्भावनालाई भाटभटेनी समूहले अवसरमा बदल्न लागेको हो । चालू आवको १० महिनामै मात्रै साढे २५ अर्ब बढीको तयारी पोशाक आयात भएको सरकारी तथ्यांक छ । तर, पछिल्लो समय नेपालबाट मुख्य निर्यात हुने वस्तुको शीर्ष सूचीमा तयारी पोशाक पनि रहँदै आएको छ । भाटभटेनी समूहले स्थापना गर्ने अत्याधुनिक उद्योगले यूरोप, अमेरिकासम्म निर्यातको अवसर पनि उपयोग गर्नेछ ।