Logo

किन अड्कियो सुनको मूल्य दुई लाख मुनि ? सरकारी नीति लागू भए अहिले नै पर्नेछ प्रतितोला २ लाख ५ हजारमाथि

किन अड्कियो सुनको मूल्य दुई लाख मुनि ? सरकारी नीति लागू भए अहिले नै पर्नेछ प्रतितोला २ लाख ५ हजारमाथि



काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा लगातार उत्तारचढाव भईरहेपनि २ लाख रुपैयाँको विन्दु पार गर्न भने नसकेको देखिन्छ । सुनमा लगानी गरिरहेका लगानीकर्ता २ लाख रुपैयाँको विन्दु पार गरोस भन्ने चाहन्छन् भने गहनाको रुपमा सुन खरिद गर्न चाहनेहरु खरिद गर्नेबेलासम्मका लागि सुनको मूल्य ओरालो लागेको हेर्न चाहन्छन् ।

गत हप्तामात्रै नेपालमा सुनको मूल्य २ लाख नजिक पुगेको थियो । सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको गत हप्तामात्रै होईन । यसअघि जेठमा र असारमा पनि सुनको मूल्य २ लाख नजिक पुगेर ओरालो लागेको थियो । यद्यिप नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारको मूल्य नुसार घटबढ हुने भएपछि सोहीअनुसार घटबढ भने हुनेगरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । पछिल्लो समय अन्तरराष्ट्रिय मूल्यमा आएको उत्तारचढावले पनि नेपालमा सुनको मूल्य २ लाख नाघिसक्नुपर्ने भएपनि नेपालमा सोहीअनुसार बढ्न नसकेको उनको भनाई छ ।

यसअघि पछिल्लो समय साउन २३ गते मात्रै नेपालमा सुनको मुल्य हालसम्मकै उच्च अर्थात १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । अर्थात सुनको मूल्य २ लाख पुग्न ६ सय रुपैयाँले मात्रै कम हुँदा त्यसको भोलिपल्ट अर्थात साउन २४ गतेदेखि पुनः यसको मूल्य ओरालो लाग्दै हाल १ लाख ९६ हजार रुपैयाँ प्रतितोलाको आसपासमा कारोबार भइरहेको छ । नेपालमा सुनको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको दिन विश्व बजारमा पनि सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस ३ हजार ५ सय डलर नाघेको थियो । यो मूल्य विश्वबजारमै उच्च हो । विश्व बजारमा पनि त्यो दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ ।

यद्यपि अहिलेपनि नेपालमा सरकारी नीति कार्यान्वयन हुनेवित्तिकै सुनको मूल्य २ लाख नाघ्ने शाक्य बताउँछन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले सुनमा दुई प्रतिशत विलासिता कर लागू गरेको छ ।

सुनचाँदी व्यवसायीले बारम्बार सडक प्रदर्शन गरे पनि संसद्ले नै पास गरेको र आर्थिक ऐनमै व्यवस्था भएकाले यो व्यवस्था साउन एक गतेबाट स्वतः लागू भएको हो । यद्यपि हालसम्म पनि नेपालका सुनचाँदी व्यवसायीहरुले सुनचाँदी तथा हिरामा अत्यधिक कर थुप्रन गएको, कारोबारमा भारी असर पर्नेलगायतका कुरा राख्दै हालसम्म विलासिता कर नथपि सुनको कारोबार गरिरहेका छन् ।

आर्थिक ऐन बमोजिम सुनको मूल्यमा विलासिता कर जोडेको खण्डमा अहिल्यैपनि सुनको मूल्य २ लाख ५ हजार माथि पुग्ने शाक्य बताउँछन् । ‘अहिले पनि सुन र यसका गहनामा विभिन्न शुल्कहरु थोपरीएको छ,’ उनले भने, ‘त्यसमाथि २ प्रतिशत विलासिता कर पनि थपिँदा नेपालमा सुनको मूल्य प्रतितोला औसतमा १२ हजार रुपैयाँले थपिने निश्चित छ यसो हुँदा यसै पनि सुनको मूल्य अहिल्यै २ लाख माथि छ ।’

उनका अनुसार सुनचाँदी व्यवसायीकै कारण हालसम्म नेपालमा सुनको मूल्य २ लाख नाघ्न पाएको छैन । यद्यपि यसअघि गत जेठमा पनि सुनको मूल्य २ लाख नजिक भने पुगेको थियो । तर, नेपाली बजारमा अन्तरराष्ट्रिय मूल्यले प्रभाव पार्ने हुँदा केहि समयभित्रै विलासिता करविनै पनि सुनको मूल्य २ लाख नाघ्ने विश्लेषकहरु बताउँछन् । विश्वभर भईरहेको भूराजनीतिक सरगर्मी, युद्ध, अमेरिकी करलगायतले यसै पनि बहुमूल्य धातुहरुको मूल्य बढाईरहेको छ । त्यसमाथि पछिल्लो समय निम्तिएको सरगर्मीले सुनको मूल्य लगातार उकालो लाग्ने अवस्था आएका कारण नेपालमा सुनको मूल्य चाँडै २ लाखमाथि पुग्ने शाक्य बताउँछ्न ।

प्रतिक्रिया दिनुहोस्