Logo

नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, मोटरसाइकललाई प्रवेश निषेध

नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, मोटरसाइकललाई प्रवेश निषेध



काठमाडौं । सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ। यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर दर निर्धारण गरेको हो।

तोकेको दरअनुसार कार र भ्यान सुरुङमार्गमार्फत काठमाडौं आउँदा प्रत्येकपटक ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ। ठूला बस तथा ट्रक काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ लाग्नेछ। भारी उपकरण काठमाडौं ल्याउँदा ६०० रुपैयाँ र लैजाँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार सुरुङमार्गमा मोटरसाइकल चलाउन निषेध गरिएको छ।

२,६८८ मिटर लामो नागढुंगा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र ढिलोमा एक वर्षभित्र सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ। सिस्ने खोलाबाट बलम्बु पुग्न हाल नागढुंगा सडकमार्ग हुँदै औसत ३३ मिनेट लाग्ने भए पनि सुरुङमार्गमार्फत करिब ७ मिनेटमै पुग्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्