काठमाडौं । संसारको सबैभन्दा प्रसिद्ध वेब ब्राउजर क्रोम अब अरू कसैको हातमा जान सक्छ । गुगलको पहिचान बनेको यो ब्राउजर किन्नको लागि कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) खोज कम्पनी पर्प्लेक्सिटीले सिधै ३४.५ अर्ब डलरको प्रस्ताव गरेको छ ।
यो बोली गुगलको मातृ कम्पनी अल्फाबेटलाई कुनै पूर्व छलफल बिना नै पठाइएको छ । यो खबर टेक उद्योगमा आँधीबेहरी जस्तै फैलिएको छ, किनकि क्रोम इन्टरनेट सर्फिङको लागि सबैभन्दा बढी प्रयोग हुने उपकरण मात्र होइन, गुगलको व्यापार मोडेलको पनि एक महत्त्वपूर्ण भाग हो ।
किन आयो प्रस्ताव ?
द वाल स्ट्रिट जर्नल र ब्लूमबर्गका रिपोर्टहरूका अनुसार, पर्प्लेक्सिटीको यो कदम यस्तो समयमा आएको हो जब अमेरिकामा गुगलको एकाधिकार तोड्न दबाब बढिरहेको छ । गत वर्ष, एक संघीय न्यायाधीशले इन्टरनेट खोजमा गुगलको अवैध एकाधिकार रहेको फैसला सुनाए । अब अमेरिकी सरकारले गुगललाई क्रोम ब्राउजर र प्रतिस्पर्धीहरूलाई खोज डेटा लाइसेन्स बेच्न बाध्य पार्ने विचार गरिरहेको छ । न्यायाधीश अमित मेहताले चाँडै नै यस मुद्दामा अन्तिम उपायहरूको बारेमा फैसला सुनाउनेछन् ।
पर्प्लेक्सिटीको योजना र विश्वास
१८ अर्ब डलर मूल्यको पप्र्लेक्सिटीले यस सम्झौताको लागि धेरै ठूला लगानी कोषहरूबाट पूर्ण वित्तीय सहयोग प्राप्त गरेको बताएको छ । कम्पनीका प्रमुख व्यापार अधिकारी दिमित्री शेभेलेन्कोले भने कि धेरै ठूला लगानी कोषहरूले यो कारोबारलाई पूर्ण रूपमा वित्तपोषण गर्न सहमत भएका छन् । यो पप्र्लेक्सिटीको पहिलो साहसिक कदम होइन । यसअघि कम्पनीले अमेरिकामा रहेको टिकटकको सञ्चालनलाई आफूसँग गाभ्ने प्रस्ताव पनि गरेको थियो ।
पर्प्लेक्सिटीले क्रोमलाई कसरी परिवर्तन गर्नेछ ?
पर्प्लेक्सिटीले चाँडै नै आफ्नो एआई–समर्थित ब्राउजर ‘कमेट’ लन्च गर्ने भएको छ । कम्पनीले दाबी गरेको छ कि यदि यसले क्रोम किन्यो भने, यसले कुनै पनि ‘लुकेका परिवर्तनहरू’ गर्दैन ताकि प्रयोगकर्ताहरूको लागि विश्वास र स्थिरता कायम रहोस् । साथै, यसले आगामी दुई वर्षमा क्रोम र यसको खुला–स्रोत संस्करण क्रोमियममा ४३ अर्ब डलर लगानी गर्ने र अवस्थित टोलीको ठूलो हिस्सा कायम राख्ने वाचा गरेको छ ।
के गुगल सहमत हुनेछ ?
यद्यपि, गुगलले यो प्रस्ताव स्वीकार गर्नेछ कि गर्दैन भन्ने कुरा अझै स्पष्ट छैन । गुगलको लागि, क्रोम केवल एक ब्राउजर मात्र होइन, यसको विज्ञापन र खोज व्यवसायको एक बलियो स्तम्भ हो । तर यदि अमेरिकी अदालतबाट दबाब बढ्यो भने, स्थिति परिवर्तन हुन सक्छ र यो सम्झौता टेक उद्योगको सबैभन्दा ठूलो आश्चर्य बन्न सक्छ । अनुवाद गरिएको