काठमाडौं । एक दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफालगायतका प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । धेरै बैंकको वितरणयोग्य नाफा बढेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमतामा पनि आकर्षक वृद्धि भएको छ ।
वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसको नाफा १५.०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । तेस्रोमा प्रभु बैंक रहेको छ । यस बैंकले ५ अर्ब ४४ करोड नाफा कमाएको छ । वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये सिटिजन्स बैंक बाहेक अरु सबै बैंकको खुद नाफा बढेको छ । यस बैंकको नाफा भने सामान्य घटेको छ ।

प्रतिसेयर लाभांश वितरण क्षमतामा एभरेष्ट बैंक अगाडि
यता, सबैभन्दा धेरै प्रतिसेयर लाभांश वितरणको क्षमता एभरेष्ट बैंक अगाडि रहेको छ । यस बैंकको प्रतिसेयर लाभांश वितरण क्षमता ३८.२७ प्रतिशत रहेको छ । यस बैंकको लाभांश क्षमता अघिल्लो वर्षको भन्दा १०.२१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसको लाभांश वितरण क्षमता २८.०६ प्रतिशत थियो ।

दोस्रोमा सानिमा बैंक रहेको छ । यसको लाभांश वितरण क्षमता २०.४७ प्रतिशत छ । कृषि विकास बैंकको लाभांश वितरण क्षमता १८.४२ प्रतिशत छ । वित्तीय विवरण सार्वजनिक गर्ने १२ मध्ये २ बैंकको प्रतिसेयर लाभांश वितरण क्षमता ऋणात्मक छ भने अरुको सकारात्म छ । प्रतिसेयर लाभांश वितरण क्षमता ऋणात्मक हुनेमा हिमालयन र कुमारी बैंक हुन् ।