Logo

सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ

सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ



काठमाडौं । नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ ।

जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट आवश्यकताअनुसार आवतजावतमा छुट दिन थालेसँगै अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु सञ्चालन भएका छन् । 

जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ ।

सेनाले सहज वातावरण बनाउन थालेपछि आफ्नो पसल पनि सञ्चालन गरेको व्यवसायी मंगललाल श्रेष्ठले बताए । उनी काठमाडौं हनुमानस्थान नजिकै खुद्रा पसल चलाउँदै आएका छन् ।

आन्दोलनका कारण निषेधाज्ञा र कफ्र्यु लागेसँगै व्यवसायमा ठूलो प्रभाव पारेको उनले बताए ।

‘व्यापार नै हुँदैन, मान्छे हिडेको छैन । मैले ती दिन बन्द गरे । अहिले पनि बन्द गर्ने बेला भयो,’ उनले भने ।

उनी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनःनिर्माणमा धेरै वर्ष लाग्ने भन्दै त्यसको जिम्मा पनि राजनीतिक दलका नेताले लिनुपर्ने बताए ।

‘नेताले भ्रष्टाचार गरेको सबै निकालेर अब नष्ट भएको बनाउन लगाउनुपर्छ । नत्र बनाउन २०औं वर्ष लाग्छ । कहाँबाट ल्याएर बनाउने हो ? बनाउनलाई गरिवकै पैसा जाने हो । त्यो नेतालाई एक एक गरेर घुस खाएको, जग्गा कब्जा गरेको सबै लिएर सबै बनाउनुपर्छ । उनीहरुले जनतालाई धेरै दुःख दिएका छन् । छिट्टै निषेधाज्ञा खोल्नुपर्छ,’ उनले भने । 

यस्तै, जेनजी पुस्ताका प्रसिद्द प्रजापति आन्दोलनले अव कस्तो प्रभाव पार्छ भन्दै चिन्तित रहेको बताए । ‘अहिलेसम्म के प्रभाव पार्यो भन्नुभन्दा पनि अव के प्रभाव पार्छ भन्ने हो । त्यो तोडफोड जेनजीले गरेको भन्ने म मान्दिन,’ उनले भने । आन्दोलनमा घुसपेठ भएको र त्यसले नकरात्मक रुप लिएको उनको भनाई छ ।   

प्रतिक्रिया दिनुहोस्