काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउने सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन्।
शितल निवास छाडेर आफ्नै निजी निवास फर्किएकी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने धेरै सेवा–सुविधा पहिल्यै छाडिसकेकी थिइन्। उनका निकट स्रोतका अनुसार अब बाँकी सुविधा पनि आगामी १ साउनदेखि फिर्ता गर्ने गरी तयारी भइरहेको छ।
‘अहिले सरकारबाट दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मीका लागि घर भाडा तथा इन्धन खर्च दिइएको छ, तर निवास खर्च र पूर्वराष्ट्रपतिको तलब भने उहाँले लिएकी छैनन्,’ स्रोतले बताए।
भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममार्फत नेकपा एमालेको सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।