Logo

२५ खर्ब नाघ्यो विदेशी मुद्रा संचिति, १७.४ महिनाको आयात धान्न पर्याप्त

२५ खर्ब नाघ्यो विदेशी मुद्रा संचिति, १७.४ महिनाको आयात धान्न पर्याप्त



काठमाडौं । चालु आवको बैशाखसम्म नेपालमा विदेशी विनिमय संचिति २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई चालु आबको वैशाख मसान्तमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको हो । । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई ३ खर्ब १ अर्ब ८३ करोड कायम भएको छ ।

२०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ । चालु आवको दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्