काठमाडौं । नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बुझबुझारथ गरेका हुन् ।
यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । उनको नाम सिफारिश भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भइरहेको छ ।
नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहने अभ्यास छ । राष्ट्रको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रमुखको निकटतामा रही प्रवक्ताले कार्यजिम्मेवारी सम्हाल्ने छन् ।