काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ । कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीलाई क्रेडिट रेटिङ संस्था, केयर रेटिङ नेपाल लिमिटेडले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व भुक्तानीको सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।