काठमाडौं । झापा इनर्जी लिमिटेडले आज भदौ २० गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १ सय ९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५७ हजार २९ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
साथै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५ सय १४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४ सय ६ कित्ता छुट्याएको छ । बाँकी ४ लाख ७३ हजार ३ सय ३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो । जसअनुसार यस कम्पनीले सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ४ करोड ७३ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आइपीओमा लगानीकर्ताले भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समय आइपीओमा माग बमोजिम आवेदन नपरेमा असोज ३ गतेसम्म आइपीओ निष्काशन तथा बिक्री खुला हुनेछ ।
यस कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले एनपी इस्यूअर रेटिङ सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट तथा मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।