Logo

पर्वतमा मौरीको स्रोत केन्द्र स्थापना, दुई हजार पाँच सय उन्नत घारमा मह उत्पादन

पर्वतमा मौरीको स्रोत केन्द्र स्थापना, दुई हजार पाँच सय उन्नत घारमा मह उत्पादन



काठमाडौँ । पर्वत फलेबास नगरपालिका– १० कुर्घामा मौरीको स्रोत केन्द्र स्थापना गरिएको हो । स्थानीय मिनप्रसाद शर्माले विगत १० वर्षदेखि सञ्चालन गर्दै आएको छहरा मौरी फार्मलाई स्रोतकेन्द्रका रुपमा विकास गरिएको हो । पेसाले शिक्षक समेत रहेका शर्माले विगत १० वर्षदेखि यो व्यवसाय गर्दै आएका छन् ।

laxmi

उनले मौरीको घार विस्तारका लागि शाही घार समेत बनाउँदै आएका छन् । उनले मौरीका नयाँ रानो उत्पादन गर्न थालेका छन् । मौरीपालनसम्बन्धी विभिन्न तालिम लिएपछि उनले शेरेना जातको मौरीको नयाँनयाँ रानो उत्पादन गर्न थालेका हुन् । १० वर्षअघि एउटा मौरीको घारबाट व्यवसाय सुरु गरेका शर्माको फार्ममा अहिले दुई सय घार पुगेका छन् ।

उनले मह मात्र नभएर मौरीसहितका घारसमेत बिक्री गर्दै आएका छन् भने कृषकलाई आवश्यक तालिम प्रदान गर्दै आएका छन् । आफ्नै बारीमा दुःख गर्ने हो भने विदेश जानुपर्दाे रहेनछ भन्ने उदाहरण आफ्नो पेसाले देखाएको शर्माले बताए । मौरीको स्रोत केन्द्रकै रुपमा विकास भएपछि उनलाई कृषि ज्ञानकेन्द्र र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले समेत अनुदान तथा तालिम दिँदै आएको छ ।

कुर्घा गाउँ दक्षिणतर्फ फर्केको साथै यहाँको हावापानी र मौसम मौरीका लागि उपयुक्त रहेको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । पैँयु, तोरी, विभिन्न फलफूललगायत मौरीका लागि चरन क्षेत्रस मेत प्रशस्त रहेकाले यहाँ मौरीपालनको सम्भावना उच्च रहेको उनको भनाइ छ । रेग्मीले व्यावसायिकरुपमा मौरीपालन गर्न चाहने कृषकलाई निर्देशनालयबाट आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिए ।

कृषक शर्माले वार्षिक १० क्विन्टलभन्दा बढी मह, मौरीको गोलासहित घार र खाली घार बिक्री गर्दै आएका छन् । मौरीका लागि आवश्यक खाद्यपदार्थ अर्थात् चास्नी आफँ उत्पादन गर्दै आएको उनले बताए । शर्माले मौरीपालनबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताए । ‘यो पेसामा हात हालेपछि पर्याप्त कमाइ भएको छ’ उनले भने, ‘कसैले विदेश नगइकन मौरीपालन व्यवसाय गर्न चाहन्छ भने म वार्षिक आफूले नै कमाएजति कमाउने उपाय बताइदिने र सहजीकरण गर्ने जिम्मा लिन्छु ।’

शिक्षण पेसाबाट बचेको समयलाई सदुपयोग गरेर शर्मा जिल्लाकै नमुना मौरीपालक कृषक बनेको गण्डकी प्रदेशका निर्देशक रेग्मीले बताए । यो क्षेत्रमा लगनशील भएर मौरीपालनसँगै फलफूल खेती गर्ने हो भने कोही पनि युवा बेरोजगार हुनुपर्ने वा विदेश जानु नपर्ने रेग्मीको भनाइ छ ।

त्यस्तै अर्का कृषक उमकान्त शर्माले ८० घारमा मौरीपालन गर्दै आएका छन् । उनले वार्षिक छ सयदेखि आठ सय किलोसम्म मह उत्पादन हुने गरेको बताए । उनले गत वर्ष मह र मौरी बिक्री गरेर रु १० लाख आम्दानी गरेको बताए । ‘मौरीपालन व्यवसायले सन्तुष्ट छु’, उनले भने, ‘घरपरिवार सबै यही पेसामा रमाएका छौँ ।’ गाउँमै स्रोतकेन्द्र स्थापना भएपछि थप सहज हुने उनको भनाइ छ । फलेबास नगरपालिकाका विभिन्न वडामा गरी वार्षिक २० टन मह उत्पादन हुने कृषि शाखा प्रमुख केदार सापकोटाले बताए । नगरपालिका क्षेत्रमा करिब दुई हजार पाँच सय उन्नत घारमा मह उत्पादन हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL