Logo

बिजखबर प्रभाव : रिडीले हटायो विवादास्पद प्रबन्ध संचालक नेपाल, कहिले रोकिन्छ सेबोनको गैरकानुनी काम ?

बिजखबर प्रभाव : रिडीले हटायो विवादास्पद प्रबन्ध संचालक नेपाल, कहिले रोकिन्छ सेबोनको गैरकानुनी काम ?



काठमाडौं । रिडी पावर कम्पनीले आफ्नो विवादास्पद प्रबन्ध संचालक कुवेरमणि नेपाललाई पदबाट हटाएको छ । केही समयअघि सम्पत्ति शुद्धीकरण विभागले इन्साइडर ट्रेडिङमा दोषी ठहर गर्दै रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कार्यकारी संचालक कुवेरमणि नेपालविरुद्ध मुद्दा दायर गरेको थियो । त्यससँगै अध्यक्ष न्यौपानेले पदबाट राजीनामा दिएपनि प्रबन्ध संचालक नेपाल भने पदमै बहाल रहेका थिए ।

laxmi

गतहप्ता बिजखबरले ‘सेबोनमा हकप्रदको नाममा असुली धन्दा सुरु, कारबाही गर्नुपर्ने रिडीलाई मुक्तिले दिए राइट उपहार’ शीर्षकमा समाचार प्रकाशित गरेसँगै कम्पनीले उनलाई पदबाट हटाएको छ । तत्कालीन समयमा धितोपत्र बोर्डले आफैले छानविन गरी इन्साइडर ट्रेडिङमा दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको प्रबन्ध संचालक नेपाललाई पदबाट हटाउनुको सट्टा उनी पदमै रहेको अवस्थामा गैरकानूनी रुपमा हकप्रद निष्काशनको स्वीकृति दिएको छ ।

उक्त समाचार प्रकाशित भएपछि पुस २५ को संचालक समितिको बैंठकले प्रबन्ध संचालक नेपाललाई हटाउँदै उनको स्थानमा साईका भण्डारीलाई नियुक्त गरेको छ । हाल इन्साईडर ट्रेडिङमा सम्पत्ति शुद्धीकरणको छानविन रहेका बेला गैरकानूनी रुपमा बहाल रहेपनि रिडीले नेप्सेलाई भने व्यक्तिगत कारण देखाइ पदबाट राजीनामा दिएको भन्दै पत्र लेखेको छ ।

नियमत धितोपत्र बोर्ड आफैले अनुसन्धान गरेर इन्साइडर ट्रेडिङमा दोषी ठहर गरेको र सोही कागजातको आधारमा सम्पत्ति शुद्धीकरण विभागले मुद्दा हालेको व्यक्तिलाई पदबाट हटाउन निर्देशन दिनुपर्दथ्यो । तर, बोर्ड आफैले दोषी ठहर गरेको र सम्पत्ति शुद्धीकरणको विषयमा हाल अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्ति नै प्रबन्ध निर्देशक रहिरहेको कम्पनीलाई हकप्रद निष्काशन स्वीकृति दिनुले यसमा स्पष्ट आर्थिक चलखेल भएको देखिने बोर्ड स्रोतको दावी छ ।

बोर्डले आर्थिक चलखेलमा गैरकानूनी रुपमा जभाभावी रुपमा हकप्रद र आईपीओ स्वीकृत दिँदा पछिल्लो समय पुँजी बजार नै धराशायी हुन पुगेको सम्बद्ध लगानीकर्ताहरुले बताउँदै आएका छन् । बोर्डले आफ्ना गैरकानुनी क्रियाकलाप सुधार नगरे अगामी दिनमा पुँजी बजारमा ठूलो समस्या निम्तने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL