काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना कटौती तथा आगामी फागुनमा हुने चुनावको लागि स्रोत व्यवस्थापन गर्न ३ सदस्य रहेको कार्यदल बनाएका छन् । उनले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव सुमन दाहालको नेतृत्वमा कार्यदल गठन गरेका हुन् । कार्यदलमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेको सहसचिव उत्तर कुमार खत्री र वैदेशिक सहायता समन्वयन महाशाखा प्रमुख रहेका सहसचिव धनीराम शर्मा छन् ।
खनालले सोमबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेसँगै टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका थिए । मन्त्री खनालले जेनजी आन्दोलनका कारण क्षति पुगेको सरकारी भवन र संरचनाहरु बनाउनुपर्ने र त्यसका लागि ठूलो बजेट खर्चनुपर्ने भएकोले पनि टुक्रे आयोजनाका बजेट कटौती गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।