Logo

ऋण नउठ्दा समस्यामा लघुवित्त, लाभांश नदिने र साधारण सभा नगर्नेको संख्या बढ्दो

ऋण नउठ्दा समस्यामा लघुवित्त, लाभांश नदिने र साधारण सभा नगर्नेको संख्या बढ्दो



काठमाडौं । समयमै ऋण नउठ्दा लघुवित्तमा समस्या देखिएको छ । आर्थिक मन्दी र लघुवित्त संघर्ष समितिको आन्दोलनको कारण पछिल्लो एक वर्षयता लघुवित्त वित्तीय संस्थाको ऋण उठ्न नसक्दा लघुवित्त कम्पनीमा समस्या देखिएको हो ।

laxmi

समस्याको कारण धेरै लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा नगर्ने भएका छन् । यसैगरी, समस्याकै कारण धेरैजसो लघुवित्त कम्पनीले ऐनअनुसार समयमा साधारण सभासमेत गर्न नसक्ने अवस्था देखिएको छ । अघिल्लो आर्थिक वर्षहरुमा लगानीको लागि राम्रो र उच्च प्रतिफलको क्षेत्र मानिएका लघुवित्तले ऋण उठाउन नसक्दा लाभांशसमेत घोषणा गर्न सकिरहेका छैनन् । अहिले देखिएको समस्याको कारण लघुवित्तले कम्पनीले समयमा साधारण सभा गर्न पनि नसकेको एक संचालकले बताए । पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीको समस्या र लघुवित्तमा देखिएको समस्याको कारण गत आर्थिक वर्षको नाफाबाट धेरै लघुवित्तले लाभांश वितरण गर्न नसकेको लघुवित्त बैंकर संघका अध्यक्ष रामबहादुर यादव बताउँछन ।

गत वर्षको आर्थिक मन्दीका कारण नाफा कमाउन नसकेका कारण धेरै लघुवित्तले लाभांश नदिने घोषणा गरेका यादव बताउँछन । ‘गत आर्थिक वर्ष लघुवित्त क्षेत्रमात्र नभएर समग्र आर्थिक क्षेत्रमा देखिएको कारण समस्याको कारण मार्जिन घट्दो छ’ उनी भन्छन, ‘जसको कारण लघुवित्तले लाभांश वितरण गर्न सक्ने अवस्था छैन ।’ गत आर्थिक वर्षमा अधिकांश लघुवित्त कम्पनी नाफा घटेको उनको बुझाई छ । आगामी दिनमा अझ समस्या देखिए त्यस्तो समस्या व्यवस्थापन गर्न नाफा कमाउने कम्पनीले पनि नाफा जगेडा गरेको उनको बुझाई छ । ‘पछिल्लो केही समययता लघुवित्तको लगानी उठन सकेको छैन ।’ उनी भन्छन, ‘कम्पनीले कमाएको पनि लाभांश बाँड्दा भोलि आउने समस्याको समाधान गर्न सकिन्न र यसले झन् भयावह अवस्था आउने भएको कारण केही कम्पनीले लाभांश वितरण नगरि आफ्नो नाफा जगेडा कोषमा राखेका छन् ।’

नेप्सेमा सुचीकृत लघुवित्तहरुमध्ये अहिलेसम्म १६ वटा लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् भने १३ वटा लघुवित्तले लाभांश दिने गरी साधारण सभाको तयारी गरेका छन् । बाँकी २६ वटा कम्पनीले अझैसम्म लाभांश घोषणासँगै साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन् । नेप्प्सेमा सूचीकृत ५५ वटा लघुवित्तमध्ये पुस १६ गतेसम्म आउँदा हिमालयन, मनकामना स्मार्ट, गुराँस, उपकार, सामुदायिक, फरवार्ड, इन्फिनिटी, लक्ष्मी, सिवाइसीएल, नाडेप, साधना, सबैको, मेरो र नेरुडे लघुवित्त गरी १६ वटा कम्पनीले लाभांश नदिने घोषणा गरेका छन् । गत वर्षको नाफाबाट अहिलेसम्म १२ वटा लघुवित्तले लाभांश बाँड्ने घोषणा गरेका छन् । आरएसडीसी, एनआईसी एसिया, स्वावलम्बन, सपोर्ट, धौलागिरी, फस्ट माइक्रोफाइनानस, साना किसान विकास, ग्लोबल आईएमई, आत्मनिर्भर, समता घरेलु, छिमेक र जीवन विकास लघुवित्तले मात्रै लाभांश दिने घोषणा गरेका छन् ।

यस्तै कम्पनी ऐन २०६३ को दफा नम्बर ६७ को अनुसार कुनै पनि पब्लिक कम्पनीले वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा २१ दिन अगाडि नै पत्रपत्रिकामा सूचना प्रकाशित गरिसक्नुपर्ने व्यवस्था रहेको छ । साधारण सभाको लागि कम्पनीले २१ दिन अगाडि नै सेयरधनीहरुलाई कम्पनीलाई उपलब्ध गराएको ठेगानामा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय खोली सूचना पठाउनु पर्ने व्यवस्था रहेको छ । सो कुराको सूचना कम्तीमा दुईपटक राष्ट्रियस्तरको दैनिकपत्रिकामा पनि प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

पुसको १६ गते भइसकेको र चालु आर्थिक वर्षको ६ महिना बित्न अब १२ दिन मात्र बाँकी रहेकोमा हालसम्म पब्लिक कम्पनी भएका ५५ वटा लघुवित्त मध्ये ३० कम्पनीले मात्र साधारण सभा डाकेका छन । बाँकी २५ कम्पनीले साधारण सभा नै बोलाएका छैनन् । सो कारण यी कम्पनीले कम्पनी ऐनअनुसार समयमा साधारण सभा गर्न नसक्ने भएका छन । पब्लिक कम्पनीले म्याद नाघेको तीन महिनाभित्र पनि वार्षिक साधारण सभा नबोलाएमा कम्पनी रजिष्टारको कार्यालयले त्यस्तो कम्पनीको वार्षिक साधारण सभा बोलाउन निर्देशन दिनसक्ने व्यवस्था रहेको छ । कम्पनी ऐन अनुसार निर्देशन प्राप्त गरेको तीन महिनाभित्र पनि कम्पनीले वार्षिक साधारण सभा नबोलाएमा सो कुरा खुलाई कुनै सेयरधनीले अदालतमा निवेदन दिनसक्ने व्यवस्था रहेको छ । त्यस्तो निवेदन दिएमा अदालतले वार्षिक साधारण सभा गर्न लगाउन वा अन्य उपयुक्त आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL