Logo

के प्रधानमन्त्री प्रचण्डले दाबी गरेजस्तै देशमा अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको हो ?

के प्रधानमन्त्री प्रचण्डले दाबी गरेजस्तै देशमा अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको हो ?



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए । उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको बताए ।

laxmi

प्रधानमन्त्री दाहालले जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश दुई वर्षयताकै प्रगतिमा रहेको बताए ।

वार्षिक औसत महँगीदर सात दशमलव ११ प्रतिशत रहेकामा अघिल्लो महिना त्यसमा कमी आई पाँच दशमलव ३८ प्रतिशतमा झरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “निर्माण व्यवसायीहरूले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैँमा महत्त्वपूर्ण पहल हो ।”

निजी क्षेत्रको प्रतिनिधि संस्था मोरङ व्यापार सङ्घले विगतका वर्षहरूमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवर्द्धन एवं अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु प्रवद्र्धन एवं स्वदेशी उत्पादनमा बढवा दिनुपर्ने बताए । उनले प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यको प्रचार–प्रसारलगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरूका निम्ति यस्ता मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

चालु आर्थिक वर्षमा प्रतिमहिना औसत रु एक खर्ब २० अर्बभन्दा बढी रेमिटेन्स भित्रिएको र पछिल्लो चार महिनामा रु चार खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले रेमिटेन्समा निर्भर हुनु अर्थतन्त्रको दीर्घकालीन समाधान त होइन, तर यसले तत्कालको सङ्कट निवारणका दृष्टिले महत्त्वपूर्ण योगदान दिने बताए ।

चालु आव २०८०/८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति रु १६ खर्ब ९६ अर्ब पुग्नुले पनि अर्थतन्त्र सुधारउन्मुख रहेको सूचित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय बैंकको ब्याजदर घटाइएको र बैंकको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको बताए ।

कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएकोे तथ्याङ्क उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कात्तिकमा कर्जाको औसत ब्याजदर ११ दशमलव ९६ प्रतिशत रहेको र राष्ट्र बैंकले गत शुक्रबार मात्रै सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर पनि कम गरिएको बताए । राष्ट्र बैंकले स्थायी तरलता सुविधाको दर सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको जानकारी दिँदै उनले यो सुधारले अर्थतन्त्रमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL