Logo

कात्तिकमा १ अर्ब ८० करोडको वैदेशिक लगानी प्रतिवद्धता, १ अर्ब १२ करोड फिर्ता

कात्तिकमा १ अर्ब ८० करोडको वैदेशिक लगानी प्रतिवद्धता, १ अर्ब १२ करोड फिर्ता



काठमाडौं । गएको कात्तिक महिनामा मात्रै नेपालमा १ अर्ब ८० करोड रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार कात्तिक महिनामा विभिन्न ४२ परियोजनामार्फत १ अर्ब ८० करोड ६३ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

laxmi

विभागका अनुसार यस अवधिमा आएको कुल वैदेशिक लगानी प्रतिवद्धतामध्ये स्थापित १७ परियोजनामा ५ करोड ६३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी आउँदा बाँकी नयाँ परियोजनामार्फत १ अर्ब ७५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । अर्थात कात्तिक महिनामा नयाँ २७ परियोजनामा लगानी प्रतिवद्धता आउँदा बाँकी लगानी प्रतिवद्धता स्थापित परियोजनामा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सक्राईब एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत आएको हो ।

कात्तिक महिनामा आएको लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा १५ परियोजनामा कुल प्रतिवद्धताको ५६ प्रतिशत प्रतिवद्धता आउँदा सेवा क्षेत्रका १२ परियोजनामार्फत ४४ प्रतिशत लगानी प्रतिवद्धता आएको हो । कात्तिक महिनामा मात्रै विदेशी लगानीकर्ताले १ अर्ब १२ करोड रुपैयाँ बढी लगानी फिर्ता लैजाने गरी स्वीकृत पाएकोसमेत विभागले जानकारी दिएको छ । विभागका अनुसार विदेशबाट लगानी ल्याई नेपालमा लगानी गरी नाफा विदेश लैजान लगानीकर्ताले स्वीकृती पाउँछन् । कात्तिक महिनामा यस्तो नाफा लाभांश शीर्षकमा १ अर्ब ९ करोड ८१ लाख रुपैयाँ बाहिरिँदा रोयल्टीवापत १२ करोड रुपैयाँ बाहिरिएको छ ।

यता चालु आर्थिक बर्षको पछिल्लो ४ महिना अर्थात गत साउनदेखि कात्तिकसम्मको तथ्यांक हेर्दा भने यो ४ महिनामा नेपालमा २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यो प्रतिवद्धता विभिन्न २ सय २३ परियोजनामार्फत आएको हो । यसमध्ये पनि ४४ स्थापित परियोजना हुन् भने बाँकी १ सय ७८ परियोजना नयाँ हुन् । चालु आवको कात्तिकसम्म विदेशी कम्पनीहरुले लाभांस र रोयल्टी शीर्षकमा करिव ३ अर्ब रुपैयाँ फिर्ता लिनेगरी स्वीकृति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL