Logo

प्राधिकरणको ड्राइभ टेष्ट : सेवाको गुणस्तर सुधार्न निर्देशनमाथि निर्देशन, अनुगमन शून्य

प्राधिकरणको ड्राइभ टेष्ट : सेवाको गुणस्तर सुधार्न निर्देशनमाथि निर्देशन, अनुगमन शून्य



काठमाडौं । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा आउने गुनासोहरुमध्ये भ्वाइस सेवासम्बन्धीका गुनासाहरु अधिक हुन्छन् । कहिले फोन नलागेको, फोन लागेपनि रिङ बज्दाबज्दै काटिएको, आवाज नसुनिएको लगायतका गुनासाहरुको प्राधिकरणमा चाङ हुन्छ । यसरी आउने गुनासाहरुको सम्बोधनका लागि भन्दै प्राधिकरणले सम्बन्धित सेवाप्रदायकलाई गुनासोअनुसारको सेवा सुधारका लागि निर्देशन पनि दिन्छ ।

laxmi

प्राधिकरणले सेवाग्राहीका गुनासाका आधारमा मात्रै नभई आफै कम्पनीका सेवाको गुणस्तर परीक्षण गरेर सोहीअनुसार सुधारका लागि आवश्यक निर्देशनसमेत दिने गरेको छ । उपभोक्ताको धेरै गुनासो आएपछि विस २०७४ सालदेखि सेवाप्रदायकको गुणस्तर परीक्षणका लागि भन्दै काठमाडौंलगायत नेपालभरका केहि स्थानमा ड्राइभ टेस्ट गरेर सेवाप्रदायकको गुणस्तर परीक्षण गरिँदै आएको छ । भ्वाइस सेवाका विभिन्न शीर्षकमा निश्चित थ्रेसहोल्ड राखेर गरिने यस्तो परीक्षणमा प्राधिकरणले थ्रेसहोल्ड नपुर्याएका सेवाप्रदायकलाई सोहीअनुसार गुणस्तर कायम राख्न निर्देशन दिने गरेको भएपनि निर्देशनबमोजिम काम भएनभएको निरिक्षण भने नगरेको देखिन्छ । हरेकजसो ड्राइभ टेस्ट प्रतिवेदनमा सेवाप्रदायकका कमी कमजोरीहरु देखिन्छन् ।

प्राधिकरणले हालै सार्वजनिक गरेको ड्राइभ टेस्टअनुसार काठमाडौंभित्रकै केहि स्थानमा टेलिकम सेवाप्रदायकहरुको भ्वाइस सेवा नाजुक देखिन्छ । उपभोक्ताले पाउनुपर्ने गुणस्तर नपाएको प्राधिकरणको ड्राइभ टेस्ट प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार प्राधिकरणले तोकेको कल सेटअप सफल हुन लाग्ने दर, कल सफल हुन लाग्ने समय, कल ब्लक दर र कल ड्रप हुने दरमा तिनै टेलिकम कम्पनीको गुणस्तर प्राधिकरणले तोकेको थ्रेसहोल्डभन्दा तलै छ ।

प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय भ्वाइस सेवाका लागि भन्दै टेलिकम कम्पनीहरुले पालना गर्नेगरी माथिका शीर्षकमा थ्रेसहोल्ड तोकिदिएको छ । जसमध्ये कल सेटअप सफल हुने दर ९९.९९ प्रतिशतभन्दा माथि हुनुपर्ने, कल सफल हुन लाग्ने समय ५ सेकेन्डभन्दा कम हुनुपर्ने, कल ब्लक हुने दर २ प्रतिशतभन्दा तलै हुनुपर्ने र कल ड्रप हुने दर पनि २ प्रतिशतभन्दा तलै हुनुपर्ने थ्रेसहोल्ड छ ।

तर, नेपालमा संचालित टेलिकम सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यी थ्रेसहोल्ड पुरा नगरेको देखिन्छ । यीमध्ये पनि स्मार्ट टेलिकमको सेवा भने सबैभन्दा नाजुक रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले गएको माघ २० देखि २४ गतेसम्म ग्वार्काे, कोटेश्वर, पुरानो सिनामंगल, बौद्ध, चावहिल, गौशाला, मैतिदेवी, हात्तिगौँडालगायतका क्षेत्रमा ड्राइभ टेस्ट गरेको थियो । यसरी पछिल्ला ५ बर्षदेखि प्राधिकरणले लगातार परीक्षण गरेर त्यसको नतिजा अनुसार सेवाप्रदायकलाई सुधारको निर्देशन दिँदै आएको भएपनि सेवाप्रदायकले भने प्राधिकरणको निर्देशनको बेवास्ता गर्दै आएका छन् ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा दिनकै लागि प्राधिकरणले सेवाप्रदायकलाई निर्देशन दिन्छ । तर, त्यो निर्देशनको पालना गरे नगरेको निरिक्षण प्राधिकरणबाट नहुने भएपछि सेवाप्रदायकहरु आफ्ना कमजोरीबाट उम्किने गरेका छन् । टेस्ट ड्राइभमार्फत आएका नतिजाहरुको सुधारका निम्ति सेवाप्रदायकहरुलाई केहि समय दिने गरेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्र बताउँछन् । ‘हामीले ड्राइभ टेस्टमार्फत सेवाप्रदायकले ग्राहकहरुलाई दिएको सेवाको गुणस्तर मापन गर्छौँ र तोकिएबमोजिम नभए सुधार्न समय दिन्छौं,’ उनले भने, ‘तर, त्यो सुधार हुने नहुने भन्ने अनुगमन गर्ने गरिएको छैन ।’ प्राधिकरणले गुणस्तर सुधार गर्न दिएको निर्देशनअनुसार सुधार भए नभएको पुनः अनुगमनको चलन भने नभएको प्राधिकरणका एक अधिकारीले बताए ।

यता नेपाल टेलिकमका अधिकारीहरु भने प्राधिकरणले गरेजस्तै कम्पनीले आन्तरिक रुपमा पनि वाकिङ र ड्राइभ टेस्ट गरेर सोहीअनुसार गुणस्तर सुधार गर्दै आएको बताउँछन् । टेलिकम सेक्टरमा विभिन्न कारणले सेवामा केही कमजोरी देखिईरहने भएपनि गुनासो र सेवाको गुणस्तर अनुसार सुधार्ने क्रम जारी रहेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् । ‘हामीले पनि आन्तरिक रुपमा हाम्रो सेवा भएको स्थानमा टेस्ट गरेर त्यसको रिपोर्ट हेरी सुधार गर्ने गरेका छौं,’ उनले भने, ‘तर, धेरैजसो गुणस्तरका प्रश्नहरु उठेका स्थानहरुमा कम्पनीका कारणले भन्दा पनि अन्य कारणले समस्या निम्तिएको देखिन्छ ।’ बिटीएस टावरको दुरी, फ्रिक्वेन्सीको बाटोमा भएका अवरोधहरु, वातावरणलगायतले पनि सेवाको गुणस्तरमा फरक पार्ने उनी बताउँछन् । ‘बिटीएस टावर नजिकै छ भने, फ्रिक्वेन्सी आउने बाटोमा अग्लो घर पर्याे भने, ठुलो रुख भएमा पनि सेवाग्राहीसम्म भनेबमोजिम गुणस्तर नपुग्न सक्छ,’ उनले भने, ‘यति मात्रै होईन टेस्ट गरिएको समय अर्थात कुन समयमा टेस्ट गरिएको हो भन्ने कुराले पनि गुणस्तरीय सेवामा महत्व राखेको हुन्छ ।’

उनले गुणस्तरका धेरैजसो समस्याहरु कम्पनीका कारणले भन्दा पनि वातावरण, भौगोलिक कारणले निम्तिने गरेको बताए । सेवाप्रदायकहरु विभिन्न कारण देखाएर आफुले प्रदान गर्नुपर्ने गुणस्तरबाट पछि हट्दा यसको प्रत्यक्ष असर भने सेवाग्राहीलाई परेको देखिन्छ । प्राधिकरणले गर्ने नाममात्रैको परीक्षण र टेलिकम कम्पनीहरुले गर्ने नक्कली सुधारका कारण सेवाग्राहीले आवश्यक गुणस्तरीय सेवाबाट बन्चित हुनुपरेको छ । यसका लागि प्राधिकरणले सेवाको गुणस्तरको ड्राइभ टेस्ट गरेका स्थानहरुमा पुनः केहि समयपछि परीक्षण गरी थ्रेसहोल्डअनुसार सुधार भए नभएको अनुगमन गर्नुपर्ने प्राधिकरणका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL