Logo

विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीबाट एक वर्षमै बाहिरियो ७९ अर्ब

विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीबाट एक वर्षमै बाहिरियो ७९ अर्ब



काठमाडौं । नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीमार्फत रकम बाहिरिने क्रम उच्च रुपमा बढेको छ । गत आर्थिक २०७८/६९ मा मात्रै विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीमार्फत पौने ७९ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष ६७ अर्ब ७० करोड रुपैयाँ विदेशीएको छ । यो रकम अघिल्लो आर्थिक बर्षको तुलनामा १ सय ७१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्ष अर्थात् २०७७/७८ मा विदेश पढ्न जाँदा नेपाली विद्यार्थीहरुले २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ विदेश लिएर गएका थिए ।

कोरोनापछि विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै नेपालबाट पैसा बाहिरिने क्रम बढेको हो । शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक मा १ लाख १४ हजार ४ सय २९ जना नेपाली विद्यार्थीहरुले विदेश पढ्नका जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएका थिए । तर अघिल्लो बर्ष यस्तो एनओसी लिने विद्यार्थीको संख्या २९ हजार ४ सय ३२ मात्रै थियो ।

यसका अलावा विदेश पढ्न जाने विद्यार्थीले हवाई टिकट र सपिङका लागि औषतमा प्रतिव्यक्ति थप साढे २ लाख देखि ३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । उक्त रकम पनि बाहिरिने गर्दछ । यसो हुँदा गत आवमा मात्रै एनओसी लिएका विद्यार्थीले थप ११ अर्ब ४४ करोड २९ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । राष्ट्र बैंकको तथ्यांकबाट बाहिरिने र सपिङ र हवाई टिकट खर्च जोड्ने हो भने गत आर्थिक वर्षमा मात्रै विदेश अध्ययनमा जाने विद्यार्थीमार्फत ७९ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

२०७६ को अन्त्यमा कोरोना महामारी सुरु भएसँगै २०७७ र २०७८ मा नेपालबाट विदेशिने विद्यार्थीको संख्या अत्याधिक घटेको थियो । अन्तरराष्ट्रिय सीमानाकाहरु बन्द भएसँगै नेपाल सरकारले पनि एनओसी वितरण पनि बन्द गरेको थियो । जसका कारण यी दुई बर्ष नेपालबाट विदेश जाने विद्यार्थीहरुको संख्यामा अत्याधिक गिरावट आएको थियो । शिक्षा मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार आव २०७६/७७ र २०७७/७८ मा एनओसी लिने विद्यार्थीहरुको संख्या क्रमशः ३३ हजार ३७ र २९ हजार ४ सय ३२ थियो ।

त्यसपछि भने विदेश अध्ययन प्रणाली खुकुलो भएसँगै गत आर्थिक बर्ष यो प्रक्रिया उच्च रुपमा बढ्न पुग्यो । हाल यहि प्रक्रिया जारी नै छ । चालू आर्थिक बर्षको पछिल्लो ६ महिना अर्थात गत साउनदेखि पुस मसान्तसम्म शिक्षा मन्त्रालयले ४५ हजार ९ सय १२ एनओसी जारी गरिसकेको छ । जसमध्ये पुसमा मात्रै ७ हजार ८ सय ५१ जना विद्यार्थीले एनओसी लिएका थिए ।

नेपालबाट धेरैजसो विद्यार्थीहरुले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिकालगायतका देशमा अध्ययनका लागि एनओसी लिने गरेका छन् । पढ्न जाने देशको कलेज, विश्वविद्यालय वा शिक्षालयले अफर लेटर दिइसकेपछि कलेजको फि तिर्नका लागि लिइने एनओसीले नेपालबाट विदेश जाने विद्यार्थीले लैजाने पैसा देखाउँछ । रेमिट्यान्सले थामेको नेपाली अर्थतन्त्रमा धेरैजसो रेमिट्यान्स नै विद्यार्थी विदेश पठाउन उपयोग हुने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL