Logo

आज मन्त्रिपरिषद विस्तार हुने, नयाँ मन्त्रीहरुको सपथग्रहण दिउँसो १ बजे

आज मन्त्रिपरिषद विस्तार हुने, नयाँ मन्त्रीहरुको सपथग्रहण दिउँसो १ बजे



काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

उनले भने, “कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर मंगलबार आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ ।” उनका अनुसार मंगलबार नै सपथ ग्रहण कार्यक्रम हुनेछ । आज (मंगलबार) दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने सत्तासाझेदार दलहरूको तयारी छ । नेताहरूका अनुसार त्यसअघि मन्त्रालय बाँडफाँटमा सामान्य हेरफेरको सम्भावना छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

सहभागी एक नेताका अनुसार साझेदारमध्येको ठूलो दल एमालेले ८ वटा मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।

जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरे पनि तीन मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ ।

सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL