Logo

एक सातामा ३ हजारले घट्यो सुनको मूल्य, तिहारमा सुनको माग धान्न नसकिने व्यवसायीको आँकलन

एक सातामा ३ हजारले घट्यो सुनको मूल्य, तिहारमा सुनको माग धान्न नसकिने व्यवसायीको आँकलन



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक सातामै करिव ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।

laxmi

गत हप्ताको आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य यो हप्ताको आईतबार अर्थात आज घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

विश्व बजारमा नै सुनको मुल्य लगातार ओरालो लागिरहँदा नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको सुनचाँदी व्यवासायीहरु बताउँछन् । अन्तरराष्ट्रिय बजारमा एक हप्ताको अवधिमा सुनको मूल्यमा प्रति औंस ४८ दशमलव १९ डलरको गिरावट आएको छ । गत हप्ताको आईतबार अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ९२ डलरमा कारोबार भईरहेको सुनको मुल्य आज घटेर १६ सय ४४ डलरको आसपासमा कारोबार भईरहेको छ ।

यता चाँदीको मुल्यसमेत एक हप्ताको अवधिमा प्रतितोला ९५ रुपैयाँले घटेको छ । गत हप्ता आइतबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य यो हप्तोको सुरुवातमा घटेर प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यता सम्पत्ति जोडजाम गर्ने वा सुनचाँदी घर भित्र्याउने सिजनमै यसको मूल्य घट्ने आँकलन गरिएको एक व्यवसायीले बताए । तिहारलगायतका जाडपर्वमा धेरैजसो नेपालीले सुन तथा चाँदीमा लगानी गरेर घर भित्र्याउँछन् । यसै अवधिमा यसको मूल्य लगातार घट्दा यसको व्यापारमा पनि सुधार हुने देखिएको उनको भनाई छ । ‘अन्तरराष्ट्रिय बजारका ट्रेन्ड हेर्दा सुन र चाँदीकै मूल्य लगातार घटिरहेको छ,’ उनले भने, ‘यसकै कारण नेपालमा पनि यसको मूल्य घट्ने निश्चित छ ।’

सुनको मुल्यमा प्रत्यक्ष प्रभाव पार्ने अमेरिकी डलरको मुल्य लगातार बढिरहँदा पनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । सुन चाँदीको मूल्य घटेसँगै बजारका मागअनुसार खपत धान्न सकिने अवस्था भने नरहेको व्यवसायीहरु बताउँछन् ।

खासगरी अघिल्ला बर्षहरुको ट्रेन्ड हेर्दा तिहार आसपास मात्रै प्रतिदिन ३० देखि ३५ किलो सुनको माग नेपाली बजारमा थियो । यसपालि पनि बर्षभरीको तुलनामा सुनको मुल्य घटेपनि त्यहि परिमाणमा सुनको माग हुने व्यवसायीको अनुमान छ । तर, सरकारले प्रतिदिन १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था गरिदिएकाले सुनको माग धान्न धौधौ हुने व्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL