Logo

नयाँ ब्रोकरका लागि पैसा जुटाउन लगानीकर्ताले बेच्न थाले सेयर, बजारमा खरिदकर्ता भेटिन कठिन

नयाँ ब्रोकरका लागि पैसा जुटाउन लगानीकर्ताले बेच्न थाले सेयर, बजारमा खरिदकर्ता भेटिन कठिन



काठमाडौं । सरकारले नयाँ ब्रोकरको लाइसेन्स दिने निर्णय गरेसँगै सोका लागि पुँजी जुटाउन लगानीकर्ताले दोस्रो बजारमा सेयर बिक्रीमा ल्याउन थालेका छन् । नयाँ ब्रोकर लिनका लागि सेयर लगानीकर्ताले नै माग गर्दै आएका र अबका दिनमा ब्रोकर लाइसेन्स लिन पुँजी जुटाउनु पर्ने भएकाले सेयर बिक्री गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

गत हप्तामात्रै अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ मा संसोधन गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको थियो । तर, उक्त संशोधनअनुसार सीमित कार्य गर्ने ब्रोकर लाइसेन्स लिनकै लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिदिएपछि लगानीकर्ताले सस्तो मूल्यमै भएपनि आफुसँग भएको सेयर बिक्री गरेर पुँजी जुटाउन लागेका हुन् ।

‘हामीहरुले पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्सको चुक्ता पुँजी बढीमा १० करोड रुपैयाँ हुन्छ होला भन्ने सोचेका थियौं,’ एक लगानीकर्ताले भने, ‘तर सरकारले सीमित कार्य गर्ने ब्रोकरकै चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिदिएपछि सोका लागि रकम जुटाउन कठिन भैरहेको छ ।’ ब्रोकर लाइसेन्स लिनकै लागि लगानीकर्ता साथीहरु मिलेर आफुसँग भएको सेयर बेच्दै पुँजी जुटाउन थालिएको समेत ती लगानीकर्ताले जानकारी दिए ।

पछिल्लो समय नयाँ ब्रोकर लाइसेन्स लिनका लागि लगानीकर्ताले बजारमा सेलिङ प्रेसर ल्याएसँगै सेयर खरिदकर्तासमेत भेटिन छाडेका छन् । जसका कारण केही दिनयता नेपाल स्टक एक्स्चेञ्जमा दैनिक कारोबार रकम समेत अर्बबाट घटेर ७४ करोड रुपैयाँ आसपासमा झरिसकेको छ । सरकारले कोटा तोकेरभन्दा पनि आवेदकको मागअनुसार नयाँ ब्रोकर लाइसेन्स दिने बताएको छ । जसअनुसार आवेदन दिएर योग्य ठहरिएका सबै आवेदकले ब्रोकर लाइसेन्स पाउने छन् ।

सरकारले नियमावली संशोधन गर्दै ३ तहको ब्रोकर लाइसेन्स दिने निर्णय गरेको छ । जसअनुसार सीमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड रुपैयाँ र स्टक डिलरसमेतको काम गर्नका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल धेरैजसोले सीमित र पूर्ण ब्रोकरको लाइसेन्स लिने तयारी गरिरहेको र सोका लागि समेत अर्बौं रुपैयाँ बजारबाट बाहिरिने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL