Logo

आयात प्रतिबन्धकै बीच तास खरिदका लागि बाहिरियो सवा २ करोड, ३ महिनामा १३ लाख गड्डी आयात

आयात प्रतिबन्धकै बीच तास खरिदका लागि बाहिरियो सवा २ करोड, ३ महिनामा १३ लाख गड्डी आयात



काठमाडौं । आयात प्रतिवन्धकै बीच पछिल्लो ३ महिनामा नेपालले तास खरिदमा मात्रै २ करोड २४ लाख रुपैयाँ बढी खर्च गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको साउनमा र गत आर्थिक बर्षको जेठ र असारमा मात्रै नेपालले २ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको १३ लाख ३ हजार गड्डी तास आयात गरेको हो ।

laxmi

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत बैशाख १३ गतेदेखि खेल्ने तासलगायत विभिन्न १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । सरकारले पछिल्लो समय बढ्दै गएको व्यापारघाटाको खाडल र घट्दै गएको वैदेशिक मुद्रा संचितिलाई ध्यानमा राख्दै विलासिताका वस्तुको आयातमा प्रतिवन्ध लगाएको थियो । जसमा टेलिभिजन, गाडी, महंगा मोबाईल, खेल्ने तास, कुरकुरे, कुरमुरे, विदेशी मदिरालगायत छन् । यी वस्तुहरुको अनावश्यक आयातले पनि व्यापारघाटा बढाउन र वैदेशिक मुद्रा संचितिमा चाप परेको भन्दै सरकारले आयातमा प्रतिवन्ध लगाएको थियो ।

तर, प्रतिवन्ध लगाएकै वस्तु तास मात्रै प्रतिवन्ध लगाएको पछिल्लो महिना अर्थात जेठमा ८६ लाख ५१ हजार रुपैयाँ बराबरको आयात भएको थियो । भन्सार विभागको तथ्यांकलाई हेर्दा जेठ महिनामा मात्रै नेपालमा ४ लाख ४६ हजार ९७० गड्डी तास आयात भएका थिए । त्यसको पछिल्लो महिना अर्थात गत आर्थिक बर्षको अन्तिम महिना असारमा भने नेपालले जेठको तुलनामा बढी तास आयात गर्याे । तथ्यांकलाई नियाल्दा असारमा नेपालले ९८ लाख २४ हजार रुपैयाँ बराबरको ६ लाख ७४ हजार ९३७ गड्डी तास आयात गरेको थियो । यो अघिल्लो महिना अर्थात जेठको तुलनामा करिव १ लाख २७ हजार गड्डीले बढी हो ।

तर, चालु आर्थिक बर्षको सुरुवातमा भने तासको आयातमा गिरावट आएको छ । गत आवको जेठ र असारको तुलनामा नेपालले असारमा ज्यादै न्युन परिमाणमा तास आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साउन महिनामा नेपालले ४० लाख रुपैयाँ बराबरको १ लाख ८१ हजार ४ सय ४३ गड्डी तास आयात भएको छ ।

पछिल्लो ३ महिनामा भएको तास आयातमार्फत नेपालले १ करोड ३८ लाख १९ हजार रुपैयाँ राजस्व उठाएको छ । नेपालले बार्षिक २० देखि २५ करोड रुपैयाँसम्मको तास आयात गर्दै आएको छ । नेपालले क्रमशः चीन, अमेरिका, भारत, जर्जिया, ब्राजिल, बेलायतलगायत १७ देशबाट तास आयात गर्र्दै आएको छ ।

सरकारले विलासिताका वस्तु मान्दै तास आयातमा प्रतिवन्ध लगाईदिँदा दशैंको मुखमा क्यासिनो व्यवसायी र ठुला होटलका संचालकहरु भने मर्कामा परेको एक व्यवसायीले बताए । उनका अनुसार क्यासिनोमा हाल तास कम भएको अवस्था छ । ‘नेपालमा संचालित क्यासिनोकै लागि तास पाईन छोडेपछि पुराना तासले क्यासिनोहरु काम चलाउन बाध्य छन्,’ उनले भने, ‘सरकारले तास आयातमा प्रतिवन्ध लगाउँदा क्यासिनो व्यवसायीको बारेमा सोच्नुपर्ने थियो ।’

पछिल्लो पटक आयात प्रतिवन्धको थपेको समयसीमा आजसम्म मात्रै छ । भोलीदेखि विलासिताका वस्तुको आयात खुलाए व्यवसायीहरुलाई फाइदा हुने उनले बताए । यता मन्त्रालयले भने अझै आयात प्रतिवन्धको समय लम्ब्याउने तर, केही वस्तुको आयातलाई भने खुकुलो पार्ने रणनीति बनाइरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL