Logo

रिलायन्स लाइफमाथि कारवाही प्रक्रिया अघि बढ्यो, साढे २ करोड दावी भुक्तानीको थप रहस्य खोतल्दै समिति

रिलायन्स लाइफमाथि कारवाही प्रक्रिया अघि बढ्यो, साढे २ करोड दावी भुक्तानीको थप रहस्य खोतल्दै समिति



काठमाडौं । बीमा समितिले रिलायन्स लाइफलाई कारबाही प्रक्रिया अघि बढाएको छ । समितिले बीमा रकमका लागि हत्या भएको प्रमाणित भएसँगै साढे २ करोड रुपैयाँको बीमा दावी भुक्तानी मुद्दामा समितिले कम्पनीबाट सबै फाइलहरु झिकाएर हाल अध्ययन गरिरहेको छ । सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार उक्त मुद्दामा कम्पनीको पनि कहीँ न कहीँ गल्ती भएको भन्दै कम्पनीलाई नै कारबाहीको दायरामा ल्याउने तयारी गरिएको हो ।

laxmi

गत बर्ष बैशाख २ गते कोहलपुरमा मिनिबसले सर्जन बिकलाई ठक्कर दिएको थियो । मिनीबस टोपबहादुर राना क्षेत्रीले चलाएका थिए । सवारी ज्यान मुद्दामा क्षेत्री २ महिना कैद सजायपछि छुटेका थिए । बिकको मृत्युको केहिदिन पछि नै बीमा दावी गरिएको थियो भने ३७ दिनअघि साढे २ करोड रुपैयाँको बीमा रकम बुझ्न उनकी पत्नी सपना मल्ल आएकी थिइन ।

दुई करोडको बीमा र ५० लाखको म्यादी जीवन बीमा दावी भुक्तानी गरिएपनि पुनर्बीमा कम्पनी नेपालले शंका लागेर केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)कहाँ छनविनका लागि उजुरी दिएको थियो । सिआइबी छानविनपश्चात सर्जनको हत्या गराईएको रहस्यमय घटना बाहिर आएको थियो ।

अनुसन्धान अनुसार प्रतिमहिना २ लाख रुपैयाँ आम्दानी देखाएर सर्जन विकको बीमा गराईएको थियो । उनको बीमा गर्ने बेलामा इच्छाईएको व्यक्तिको रुपमा पत्नी सपना मल्लको नाम थियो । सपना मल्ललाई पनि डिपेन्डेन्ड भिसामा अष्ट्रेलिया लैजाने आश्वासनसहित संगठित गिरोहले नक्कली विवाह गराइदिएको थियो । कागजी विवाहपश्चात् नक्कली पत्नी बनेकी सपनालाई इच्छाईएको व्यक्ति राखेर रिलाएन्स इन्सुरेन्समा बीमा गराइएको थियो । घटनामा सपना मल्लको सञ्जीव अर्यालसँग कुराकानी भएको, अर्यालको चालक टोपबहादुर रानासँग कुराकानी भएको खुलेसँगै बिकको मिलेमतोमा हत्या भएको र यसमा संगठित गिरोह नै रहेको तथ्य उजागर भएको थियो ।

संगठित समूहले बीमा रकम पाउन युवकलाई नक्कली विवाह गराई हत्य सम्मको घटना घटाएको रहस्य खुलेको सीआइबीले जानकारी दिएको छ । यसमा मुख्य योजनाकार थिए सञ्जीव अर्याल । उनैले सपना मल्लको नक्कली विवाह सर्जन विकसँग गराएका थिए । मिनीबस चालक टोपबहादुर रानालाई तयार गरी मोटरसाइकल दुर्घटना गराई हत्या गराएका थिए । घटनामा सरदार अहमद खाँ, दिपक केसी र ललिता सापकोटा पनि मतियार रहेको प्रहरीको आरोप छ ।

बीमा दावी भुक्तानी पछि पनि उक्त संगठित गिरोहले पैसा बाँडफाँड गरेको पनि देखियो । सबैभन्दा बढी रकम मुख्य योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार, दीपक केसीले ६० लाख, सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको खुल्यो ।सर्जन हत्याकाण्डका मुख्य अभियुक्त मानिएका संजीव अर्याल रिलायन्स लाइफका अभिकर्ता हुन् । उनले नै बीमाको सबै प्रपन्च मिलाएका थिए । उनले बिमितको पहिलो प्रिमियम पनि आफै तिरिदिएको देखिएको छ । ‘बिमित एक साधारण सुकुम्बासी बस्तीमा बस्ने नागरिक थिए । उनी मजदुरी गरेर जिविकोपार्जन गरिरहेका रहेछन् ।’, सीआइबीले गरेको अध्ययनमा भनिएको छ ।

कम्पनीलाई यस्तो जानकारी हुँदाहुँदै पनि निजको बीमा गरेर दावी भुक्तानी पनि गर्नु गलत रहेको समितिको बुझाई छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि कम्पनीले फाइनान्सियल अन्डरराईटिङ नहेरी हचुवाका भरमा अढाई करोडको बीमा गरिदिएको बताउँछन् । ‘एक साधारण मजदुरले कसरी बार्षिक ५ लाख रुपैयाँ बीमा प्रिमियम तिर्न सक्छ भनेर कम्पनी आफैले बुझ्नुपर्ने थियो,’ उनले भने, ‘यसमा अन्य तत्वहरु त होलान मुख्यगरी बीमा कम्पनीले नै केही भुल भने गरेकै हो ।’ उनका अनुुसार बीमामा फल्ट आउने मुख्य तत्व नै अन्डरराइटिङ हो ।

यदि वित्तीय र मेडिकल अन्डरराइटिङ मिलेको छ भने बीमा फल्ट नै नआउने उनी बताउँछन् । अभिकर्ताको नियत गलत भएपछि फाइनान्सियल अन्डरराइटिङ पनि नियतबस सुधारेर पठाइएको देखिन्छ । तर, बीमा कम्पनीले अलिकति अध्ययन गरेर उक्त बीमा स्विकृत गरी भुक्तानी गर्नुपर्ने थियो । यसमा कम्पनीको अध्ययन र दूरदृष्टि नै नपुगेको बीमा समितिको निष्कर्ष छ ।

घटनाका मुख्य अभियुक्त सन्जीव अर्यालले यसअघि मेट लाइफमा पनि अभिकर्ताको रुपमा काम गरेका थिए । यही बिषयमा कम्पनीबाट सम्बन्धित घटानाका सबै फाइलहरु कम्पनीबाट झिकाउर समितिको कानुन शाखाले अध्ययन गरिरहेको छ । अध्ययनपश्कचात सोही अनुसारको कारबाही गरिने समितिले जानकारी दिएको छ ।

बीमा बिश्वासमा आधारित व्यवसाय भएकाले यसमा यस्ता घटनाले केही धक्का लागेको जानकारहरु बताउँछन् । यससम्बन्धी जानकारहरु अभिकर्ता र बिमितबीचको बिश्वासका कारण नै बीमा चलेको बताउँछन् । तर, पछिल्लो समय अभिकर्ताले नै गरेका यस्ता हर्कतले समग्र बीमा क्षेत्रकै विश्वसनीयतामा प्रश्न खडा भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL