Logo

नेपाल पुनः विश्वकै भ्रष्टाचार धेरै हुने देशहरुको श्रेणीमा, प्रतिवेदनले औंल्यायो यी कमजोरी

नेपाल पुनः विश्वकै भ्रष्टाचार धेरै हुने देशहरुको श्रेणीमा, प्रतिवेदनले औंल्यायो यी कमजोरी



काठमाडौं । नेपाल पुनः विश्वकै भ्रष्टाचार हुने देशहरुको श्रेणीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) प्रतिवेदनमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा परेको छ ।

प्रतिवेदनअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो वर्ष पनि यही स्थानमा रहेको थियो । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी हुनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता सन्देश दिएको छ ।’ ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक पदाधिकारीमाथि प्रश्न, अन्तरदेशिय भ्रष्टाचार नियन्त्रण, शक्ति नियन्त्रण र सरकारी खर्चको पारदर्शिता बढाउन सुझावसमेत प्रतिवेदनमार्फत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL