Logo

नेप्से उच्च अंकमा बढ्दा पनि कारोबार रकमले दिएन साथ, किन अंक तोकेरै घटबढ गराइन्छ बजार ?

नेप्से उच्च अंकमा बढ्दा पनि कारोबार रकमले दिएन साथ, किन अंक तोकेरै घटबढ गराइन्छ बजार ?



काठमाडौं । नेप्सेमा पछिल्लो समय उच्च रुपमा उतार चढाव आएको छ । नेप्से परिसुचक घट्दा होस वा बढ्दा उच्च अंकको तलमाथि हुन थालेको छ । सामान्य रुपमा नेप्समा हुने घटवढ त्यसको सुन्दरता भएपनि पछिल्लो समय हुने गरेको घटवढले त्यसलाई बैधानिक जुवाघरको झल्को दिन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सामान्यतया बजारमा माग र पूर्तिको आधारमा सेयरको मुल्य घट्ने वा बढ्ने गर्दछ । तर पछिल्लो समय माग र पूर्ति भन्दा पनि समिति लगानीकर्ताले आज सेयर मुल्य बढाउने वा घटाउने भन्ने विषयमा घोषणा नै गरेर कारोबार गर्न थालेका छन् ।

केही समय अघि धितोपत्र बोर्डले सामाजिक संजालबाट नेप्से परिसुचक घट्ने वा बढने, कुनै पनि परिसुचकको वारेमा तोकेर बोल्न नमिल्ने भन्दै रोक लगाएको थियो । तर पछिल्लो समय बजारका केही ठूला खेलाडीले क्लवहाउसलाई म्यानुपुलेसन गर्ने प्लेटफर्म बनाउँदै सेयर यो दिन सेयर मुल्य यतिले बढ्छ वा घटाउन परेका सरकारी नीतिले अब बजार घट्छ भन्ने भ्रम सिर्जना गर्न थालेका छन् ।

सेयर बजारमा कतिपय ठूला खेलाडीले मंगलबारनै क्लबहाउस मार्फत बुधबार सेयर बजार उच्च अंकमा बढ्छ भनेर प्रचार गरेका थिए भने आन्दोलनमा उत्रिएका दिपेन्द्र अग्रवाललगायतका समुहले आज नेप्से परिसुचक १ सय अंकभन्दा बढिले बढ्छ भनेर क्लबहाउनमार्फत घोषणा गरेका थिए । सोही अनुरुप बुधबार सेयर बजार १०४ अंकले बढ्न पुग्यो । पछिल्लो समय सेयर बजारसम्बन्धी खुलेका विभिन्न संघसंस्था, सर्वसाधारण लगानीकर्ता तथा नियामक निकायले समेत डिम्याट खाताको आधारमा सेयर बजारमा ४० लाखभन्दा बढी लगानीकर्ता रहेको र उनीहरुको हितमा पुँजी बजारलाई बनाईनुपर्ने बताउँदै आएका छन् । तर, पछिल्लो समय सीमित लगानीकर्ता तथा ब्रोकरले पुँजी बजारलाई आफ्नो स्वार्थमा चलाउन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

आफुलाई सेयर खरिद गर्नुपर्दा नियामक निकायका कारण बजार घट्दै छ भन्ने र आफुले ठूलो मात्रामा सेयर उठाएपछि क्लव हाउसमार्फत बजार बढ्छ वा नियामकसँग वार्ता मिल्यो भन्ने जस्ता हल्ला फैल्याएर बजारलाई माथि उकास्न थालेका छन् । जसको परिणाम स्वरुप बुधबार थोरै कारोबार रकमै बजारलाई माथि उचालेका थिए ।

नेप्से परिसुचक दोहोरो अंकले घट्दा पनि दैनिक ८।९ अर्ब रुपैयाँको सेयर कारोबार भइरहेको बजारमा नेप्से परिसुचक १ सय अंकभन्दा माथिले बढ्दा ६ अर्ब रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । बजार यति ठूलो अंकमा बढ्दा पनि जुन खालको कारोबार रकम छ त्यसले नेप्सेको नेचुरल वृद्धिलाई सपोर्ट नगर्ने सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘बुधबार बजार खुलेको केही समयमै सानो कारोबारबाट बजारलाई उच्च रुपमा उचालियो,’ एक लगानीकर्ताले भने, ‘हामी अहिले ४० लाख लगानीकर्ताको हितको कुरा गरिरहेका छौं तर बजार भने अझै पनि सिमित लगानीकर्ताले चलाईरहेको स्पष्ट रुपमा देखिन्छ ।’

पछिल्लो समय केही स्वार्थ केन्द्रित लगानीकर्ताले अर्थमन्त्री जनार्दन शर्मा तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजारमा गिरावट आएको आरोप लगाएका छन् भने सोही अनुरुप उनीहरुको राजीनामा माग गर्दै आन्दोनका समेत गरिरहेका छन् । तर सिमित स्वार्थ केन्द्रित लगानीकर्ताले बजारको सुद्धिकरण वा वृद्धि भन्दा पनि अर्थमन्त्री र गभर्नरलाई देखाएर बजार घटाउने वा बढाउने खेल खेल्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL