Logo

सस्तो सेयरमा झुम्मिए लगानीकर्ता, परिसुचक ४१ अंकले बढ्दा पौने ३ अर्बको कारोबार

सस्तो सेयरमा झुम्मिए लगानीकर्ता, परिसुचक ४१ अंकले बढ्दा पौने ३ अर्बको कारोबार



काठमाडौं । दशैँपछिको पहिलोदिन दोहोरो अंकले बढेको सेयर बजारमा लगानीकर्ताको आकर्षण कम मूल्यको सेयरमा पर्न गएको छ । केही समय पहिलादेखि नै कम मूल्य भएका कम्पनीको सेयर कारोबार हुँदै आएकोमा बुधबार पनि कम मूल्य भएका बैंक तथा वित्तीय संस्थाका सेयरहरु कारोबार भएका छन् ।

लगानीकर्ताहरुले विशेषगरी प्रतिकित्ता ३ सय रुपैयाँभन्दा कम मूल्यका सेयरमा बढी आकर्षित भएका छन् । नेप्सेमा सुचिकृति धेरैजसो कम्पनीहरुले आर्थिक बर्ष २०७६/७७ को लाभांश घोषणा गर्ने समयमा कम मूल्यको सेयर होल्ड गर्दा बढी लाभांश पाईने आशामा पनि सस्तो सेयरमा आकर्षण बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘कोरोनाका कारण उच्च मूल्य भएका उत्पादनमुलक तथा अन्य कम्पनीमा बढी असर गरेका कारण लगानीकर्ताहरु बैंकिङ समुहका कम्पनीमा आकर्षित भएका छन्,’ एक लगानीकर्ताले भने, ‘त्यसमा पनि कम मूल्य भएका कम्पनीको सेयर होल्ड गर्दा लाभांशको अनुपात बढी हुने भएकाले सोही अनुसार बजारमा कारोबार भइरहेको छ ।’

बुधबार बजारमा कम मूल्य भएको प्राईम कमर्सियल बैंकको सबैभन्दा बढी ९.९० प्रतिशतले मूल्य बढेर १७ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी कम मूल्य भएको प्रभु बैंकको सेयर मूल्य ८.५० अंकले बढेर १६ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ भने कम मूल्य भएको ग्लोबल आईएमई बैंकको पनि मूल्य बढ्दै सबैभन्दा बढी २० करोड ६६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

बजारमा उच्च मूल्य बढ्ने सबैजसो कम्पनीहरुमा कम मूल्य भएका कम्पनीका सेयर नै रहेका छन् । दशैंँ अघि जलविद्युत समुहका कम्पनीका आकर्षित भएका लगानीकर्ताहरु दशैँपछि बैंकिङ समुहका कम्पनीका आकर्षिकत भएका छन् । सोही अनुरुप बुधबार बैंकिङ समुहको परिसुचक ५५ अंकले उचालिँदा विकास बैंक समुहको परिसुचकमा पनि ६१ अंकको वृद्धि हुन पुग्यो ।
बजारमा दिनभर सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ११० अंकले बढेको छ भने निर्जीवन बीमा समुहको परिसुचक ४७ अंक, माईक्रोफाइनान्स २५ र उत्पादनमुलक समुहको परिसचक २० अंकले उकालो लागेका छन् । तर ४१ अंकले बढेको बजारमा व्यापार समुहको परिसुचक भने घट्न पुगेको छ ।

बजारमा दिनभर कुल २ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १८८ कम्पनीको ९ लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL