Logo

ब्रोकरमा डिम्याट खाता जुध्दा बजारमा पोजेटिभ सर्किट, आर्टिफिसियल डिमाण्डले बढायो नेप्से

ब्रोकरमा डिम्याट खाता जुध्दा बजारमा पोजेटिभ सर्किट, आर्टिफिसियल डिमाण्डले बढायो नेप्से



काठमाडौं । लामो समयपछि खुलेको सेयर बजार मंगलबार र बुधबार लगातार ६ प्रतिशत बढेर सर्किट लाग्यो । लगानीकर्ताहरुले कोरोना पछिको लकडाउनको कारण बजारमा उच्च रुपमा गिरावट आउने अनुमान लगाएपनि ठिक त्यसको विपरित बजार लगातार बढेको छ ।

नेप्से खुलेको पहिलो दिन सोमबार बजारमा सामान्य गिरावट आएपनि त्यसपछिको दुई दिन छोटो समयमा पोजेटिभ सर्किट हानेर बन्द हुन पुग्यो । तर पछिल्लो समय नियामक निकायले ल्याएको नयाँ नीतिका कारण लगानीकर्ताले आफ्नो खातामा भएको सेयर बिक्री गर्न नपाउँदा बजारमा भएको आर्टिफिसियल डिमाण्डका कारण बजारमा सेयर खरिद चाप आई नेप्से परिसुचक बढ्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन्

यस अघि लगानीकर्ताले एउटा डिम्याट खाताबाट आफुलाई इच्छा लागेको ब्रोकरबाट सेयर खरिद बिक्री गर्न पाउथे । तर धितोपत्र बोर्डले उक्त व्यवस्था परिवर्तन गर्दै एउटा डिम्याट खातामा रहेको सेयर एउटा ब्रोकर कहाँबाट मात्र खरिद बिक्री गर्न पाहिने बनायो । जसका कारण लगानीकर्ताले आफ्नो खातामा भएको सेयर बिक्री गर्न नपाउँदा बजारमा आर्टिफिसियल डिमाण्ड सिर्जना भई बजार बढ्न पुगेको एक लगानीकर्ताले बताए ।

उदाहरणका लागि कुनै लगानीकर्ताले ए भन्ने ब्रोकरमा डिम्याट खाता खोल्यो तर उसले पछि बी भन्ने ब्रोकरबाट कारोबार गरिरहेको छ भने नयाँ व्यवस्था अनुसार उसले अब सेयर बिक्री गर्न ए भन्ने ब्रोकर कहाँ जानु पर्ने हुन्छ । अथवा सम्बन्धित लगानीकर्ताले सिडीएससीमा आवेदन दिएर सफ्टवेयर निर्माता कम्पनी वाईकोमा मार्फत हाल आफुले कारोबार गर्दै आएका ब्रोकर कहाँ उक्त डिम्याट खाता ल्याउनु पर्छ ।

एउटा डिम्याट खातामार्फत एउटा ब्रोकर अफिसबाट मात्र सेयर खरिद बिक्री गर्न पाउने व्यवस्थाले गर्दा धेरै लगानीकर्ताले चाहेर पनि आफ्नो खातामा भएको सेयर बिक्री गर्न नपाएको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले धेरै लगानीकर्ताले अनलाईनमार्फत आफुले कारोबार गर्दै आएको ब्रोकरमार्फत सेयर खरिदबिक्री गर्दै आएका छन्,’ ती लगानीकर्ताले भने, ‘तर ब्रोकर अफिसमा डिम्याट खाता जुध्दा बिक्री अर्डर नै लिईरहेको छैन ।’ जसका कारण बजारमा बिक्री भन्दा खरिद चाप बढी आई छोटो समयमै ६ प्रतिशतको वृद्धि भई बजार बन्द हुन पुगेको हो ।
‘उदाहरणका लागि अहिले बजारमा १० जना लगानीकर्ताले सेयर खरिद गर्ने पक्षमा छन् भने २० जनाले बिक्री गर्न चाहेका छन् तर डिम्याट खाता जुध्दा ५ जना लगानीकर्ताले पनि सेयर बिक्री गर्न पाएका छैनन्,’ ती लगानीकर्ता भने, ‘लगानीकर्ताहरुले चाहेर पनि आफ्नो खातामा भएको सेयर बिक्री गर्न नपाउँदा बजारमा खरिद चाप आई नेप्से परिसुचक बढीरहेको छ ।’ तर कतिपय लगानीकर्ताहरु प्राविधिक पक्ष नै नबुझि बजार बढेको भन्दै बजार प्रवेश गरिरहेको समेत ती लगानीकर्ताले जानकारी दिए ।

यसैगरी पछिल्लो समय धितोपत्र बोर्डले आफ्नो खातामा भएको सेयर म्याचिङ भएपछि मात्र बिक्री गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा अल्पकालिन लगानीकर्ताले सर्टसेल गर्न नपाउँदा समेत बजारमा खरिद चाप गर्न गएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘यस अघि लगानीकर्ताहरुले आफ्नो खातामा नभएको सेयर पनि पछि दिने भन्दै बिक्री गर्दै आएका थिए,’ एक लगानीकर्ताले भने, ‘तर अबका दिनमा आफ्नो खातामा भएको सेयर म्याचिङ भएपछि मात्र बिक्री गर्न पाउने भएकाले पनि बजारमा खरिद चाप पर्न गएको हो ।’ यसअघि सर्टसेलमा खेल्ने लगानीकर्ताले पछि सेयर ट्रान्सफर गर्नेभन्दै ब्रोकरसँगको मिलेमत्तोमा बिहान खरिद गरेर दिउसो बिक्री गर्दै आएका थिए । तर सेटलमेन्टको टी प्सल थ्रीको नियम अनुसार सेयर खरिद गरेको ३ दिनपछि मात्र आफ्नो खातामा सेयर आउने र त्यसपछि मात्र बिक्री गर्न पाउने भएकाले सेयर बिक्री चापमा कमि आएको हो ।

प्राविधिक समस्यामा कारण केही दिन ह्वात्तै बजार बढेपनि उक्त समस्या समाधान भएपछि बजारको वृद्धिदर रोकिने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘बजारले गति लिनका लागि नेप्से परिसुचक दैनिक २/३ प्रतिशतले बढ्दै नयाँ लगानीकर्तालाई प्रवेश गराउने वातावरण बन्नु पर्दथ्यो,’ एक लगानीकर्ताले भने, ‘तर बुधबार रियल कोरोबार २० मिनेटपनि नहुँदै बजार ६ प्रतिशतले वढाएर बन्द गरियो यसले गर्दा नयाँ लगानीकर्ता प्रवेश गर्ननै पाएनन् ।’ नयाँ लगानीकर्तालाई प्रवेश नै नगर्न नदिई बजार ह्वात्तै बढाउदा बजारको वृद्धिमा दिगो नहुने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि बजारमा छोटो समयमा ६ प्रतिशतको सर्किट लागेर दिनभरका लागि बन्द हुदा बजारमा दिगोपन नहुने बताउँछन् । ‘बजार दैनिक रुपमा २÷३ प्रतिशतको वृद्धि हुँदै नयाँ लगानीकर्ता प्रवेश गर्ने वातावरण बनाएर बजार दिगो बनाउनु पर्दथ्यो,’ उनले भने, ‘तर अहिले छोटो समयमै बजार ह्वात्तै बढेर दिनभरका लागि बन्द हुँदा बजारमा वास्तविक कारोबार नै हुन पाएन ।’

तर पछिल्लो समय बजारमा तरलता रहेको र बैंकहरुले पनि सस्तो व्याजदरमा सहज रुपमा कर्जा प्रदान गरेकाले नेप्से परिसुचक बढेको उनको तर्क थियो । ‘कोरोनाका कारण अहिले लगानीकर्ताहरुको लगानी गर्ने एउटै मात्र विकल्प भनेको सेयर बजार नै हो,’ उनले भने, ‘सरकारले पनि सेयर बजारको पूँजीगत लाभकर जस्ता विषयमा नीतिगत सुधार गर्दै लगानीकर्ताको पक्षमा निर्णय गरेकाले पनि लगानीकर्ताको मनोवल उच्च हुन पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL