Logo

थाकेको साँढेको बजारमा ‘डबल जम्प’, के लगानीकर्ताको मनोबल बढेकै हो ?

थाकेको साँढेको बजारमा ‘डबल जम्प’, के लगानीकर्ताको मनोबल बढेकै हो ?



काठमाडौं । लामो समयदेखि सुस्ताएको बजार सोमबार अन्तिम समयमा दोहोरो अंकले बढ्न पुगेको छ । सामान्य अवस्थामा चलिरहेको बजारमा एकैपटक नेप्से परिसुचक र कारोबार रकममा उल्लेख्य वृद्धि हुन पुगेको हो ।

सोमबार साँढेले बजारमा डबल जम्प हान्दा नेप्से परिसुचक १३ दशमलव ५१ अंकले बढ्न पुगेको छ । यसका साथै कारोबार रकममा पनि वृद्धि हुँदै ४६ करोड ४२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बजारमा उच्च कारोबार हुने १० कम्पनीमा ८ कम्पनीको १ करोड रुपैयाँभन्दा माथीको सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी नेपाल बैंकको २ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

लामो समयसम्म सिथिल रहेको बजारमा १/२ दिन बजार दोहोरो अंकले बढ्नु सामान्य नै रहेको सम्बद्ध लगानीकर्ता बताउँछन् । ‘लामो समयदेखि वियरिस ट्रेड समातेको बजारमा लगानीकर्ताहरु आर्थिक तथा मानसिक रुपमै सिथिल भैकेका छन्,’ एक लगानीकर्ताले भने, ‘२०/५० अंक परिसुचक बढेर केही असर गर्दैन ।’

बजारमा सुधारको संकेत आउन यस्तो वृद्धि केही समयसम्म लगातार रहनुपर्ने ती लगानीकर्ताले जानकारी दिए । ‘पहिलो कुरा अबका दिनमा बजारको वृद्धि दिगो हुन नयाँ लगानीकर्ता आउनुपर्छ,’ उनले भने, ‘अहिले बजारमा कुनै सुधारको संकेत छैन भने बैंक वित्तीय संस्थाले दिन प्रतिफलका साथै चालू आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा समेत घटिरहेको छ ।’ बैंक वित्तीय संस्थाको बढी होल्डिङ भएको बजारमा त्यस्ता संस्थाको नाफामा गिरावट आउँदा आगामी दिनमा सेयर बजारमा अझै नकारात्मक प्रभाव पर्न सक्ने उनको तर्क थियो ।

दोहोरो अंकले बढेको बजारमा अतिरिक्त र म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचक हरिया भएका छन् । जसमा सबैभन्दा बढि बीमा समुहका परिसुचक उकालो लागेको छन् । निर्जीवन बीमा समुहको परिसुचक १५६ अंकले बढ्दा जीवन बीमा समुहको परिसुचकमा पनि ५० अंकको वृद्धि भएको छ ।

यसैगरी विकास बैंक समुहको परिसुचक २८ अंकले बढ्दा बजारमा सबैभन्दा बढी प्रभुत्व जमाएको बैंकिङ समुहको परिसुचकले भने दोहोरो अंकको वृद्धि छुन सकेन । दिनभर कुल १७३ कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL