Logo

मौद्रिक नीतिको मारमा नेप्से, बैंकहरुले अनिवार्य ऋणपत्र जारी गर्दा बजारबाट ४५ अर्ब खिचिने

मौद्रिक नीतिको मारमा नेप्से, बैंकहरुले अनिवार्य ऋणपत्र जारी गर्दा बजारबाट ४५ अर्ब खिचिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसको प्रत्यक्ष असर पूँजी बजारमा पर्ने भएको छ । मौद्रिक नीतिमा सेयर बजारको बारेमा कुनै विषय नसमेटिएपनि बैंकले अनिवार्य रुपमा जारी गर्नुपर्ने ऋणपत्रका कारण त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने भएको हो ।

laxmi

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै २०७७ असार मसान्तसम्ममा सबै बाणिज्य बैंकले आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । उक्त व्यवस्थाले बजारबाट न्यूनतम ४५ अर्ब रुपैयाँ खिचिने छ ।

हाल बाणिज्य बैंकहरुको चुक्ता पूँजी कुल २ अर्ब ३८ करोड रुपैयाँ छ । उक्त पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्दा बैंकले बजारबाट ६२ अर्ब रुपैयाँ उठाउनुपर्ने हुन्छ । हाल आधाजसो बाणिज्य बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेकाले १ बर्षभित्रमा थप करिब ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरिसक्नुपर्ने हुन्छ । नयाँ आर्थिक बर्षसँगै बैंकहरुले गत आबको नाफाबाट बोनस वितरण गर्ने भएकाले पनि आगामी दिन जारी गर्नुपर्ने ऋणपत्रको हिस्सा अझै बढ्ने देखिन्छ ।

बैंकहरुले ऋणपत्र जारी गर्दा हाल बजारमा देखिएको लगानी योग्य पूँजीको अभाव अझै बढ्ने बैंकरहरु बताउँछन् । यसरी ऋणपत्र बिक्री गरेर बैंकहरुले बजारबाट पैसा खिच्दा बैंकको पूँजीकोषमा पैसा जम्मा भएर बस्ने र जसका कारण बजारमा तरलता अभाव देखिने उनीहरुको तर्क रहेको छ ।

बाणिज्य बैंकहरुले यसरी ऋणपत्र जारी गर्दा सबैभन्दा बढि प्रभाव सेयर बजार र घरजग्गामा पर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । हाल बजारमा भएको चलायमान पूँजीका कारण सेयर बजारमा लगानीकर्ताहरु चलिरहेका छन् ।

राष्ट्र बैंकको बाध्यकारी नीतिका कारण बैंकहरुले विभिन्न खालका आकर्षक स्किम ल्याएर ऋणपत्रमार्फत लगानीकर्ताहरुबाट पैसा खिच्ने भएकाले पनि पूँजी बजारमा ठूलो प्रभाव पर्ने एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले पनि बजार अस्थिर बजारका कारण लगानीकर्ताहरु उच्च ब्याजमा मुद्दती निक्षेपमा पैसा राख्न तयार छन्,’ एक लगानीकर्ताले भने, ‘राष्ट्र बैंकको बाध्यकारी नीतिका कारण बैंकहरुले आफ्नो लक्ष्य पुरा गर्न आकर्षक स्किम सहितको ऋणपत्र जारी गर्न सक्ने भएकाले बजारको पैसा ऋण पत्रमा गएर थुप्रिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL