काठमाडौं। नाडा अटो शोमा यस वर्ष फोटोन टुनल्यान्डका तीन प्रमुख मोडलहरू आकर्षणको केन्द्र बनेका छन्। नेपालको बजारमा टुनल्यान्ड जी–७ को सफल प्रवेशपछि कम्पनीले यसपटक टुनल्यान्ड भि–९, टुनल्यान्ड जी–७ र ई–टुनल्यान्ड प्रदर्शनीमा सार्वजनिक गरेको हो।
हाइब्रिड पिकअप टुनल्यान्ड भि–९ मजबुत र शक्तिशाली मोडलका रूपमा प्रस्तुत भएको छ, जसले काम, मनोरञ्जन वा लामो दूरीको साहसिक यात्रासम्मका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। यसको बलियो इञ्जिन र दमदार डिजाइनले दर्शकको ध्यान खिचिरहेको छ।
पहिले नै नेपाली बजारमा लोकप्रियता कमाइसकेको टुनल्यान्ड जी–७ पनि शोमा प्रदर्शित छ। सहज ड्राइभिङ अनुभव, आकर्षक स्वरूप, आरामदायी भित्री सजावट र मजबुत प्रदर्शनका कारण यसले ग्राहकको रोजाइमा पर्न सफल भएको छ।
यस्तै, वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिँदै फोटोनले ई–टुनल्यान्ड मोडल पनि सार्वजनिक गरेको छ। विद्युतीय पिकअपको रूपमा आएको यो गाडीले टुनल्यान्डको शक्ति र प्रदर्शनलाई निरन्तरता दिँदै हरित विकल्प प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।