काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । यस अवधिमा नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरुले समग्रमा ८६ करोड ४४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
अघिल्लो वर्षको यसै अवधिमा समग्रमा फाइनान्स कम्पनीहरुले ९ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा व्यहोरेका थिए । यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । एक वर्षमा यसको नाफा २०४.६० प्रतिशतले बढेर ३४ करोड ४९ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, मञ्जुश्री फाइनान्सले ३१ करोड ४३ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा ११ फाइनान्सको खुद नाफा बढेको छ भने २ को घटेको छ । चौथो त्रैमाससम्म आइपुग्दा गोर्खाज र जानकी फाइनान्स भने नोक्सानमा रहेका छन् ।

प्रतिसेयर लाभांश वितरण क्षमता र प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर लाभांश वितरण क्षमता मञ्जुश्री फाइनान्सको रहेको छ । यसको प्रतिसेयर लाभांश वितरण क्षमता २६.२२ प्रतिशत छ ।
आइसीएफसी फाइनान्सको प्रतिसेयर लाभांश वितरण क्षमता २०.२८ प्रतिशत छ । श्री इन्भेष्टमेन्टको लाभांश वितरण क्षमता ६.२८ प्रतिशत छ । १० फाइनान्स कम्पनीको प्रतिसेयर लाभांश वितरण क्षमता ऋणात्मक रहेको छ ।
यता, सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा आएसीएफसी फाइनान्स छ । यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २६ पैसा छ । यसअवधिमा गोर्खाज र जानकी फाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक छ ।
