काठमाडौं । नाडा अटो शो २०२५ राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा आज भव्य रूपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शोमा नवीनतम प्रविधि, विद्युतीय सवारी र भविष्यका स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शन गरिएको छ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिलाई कसैले पनि नकार्न नसक्ने भन्दै नेपालमा समेत आगामी दिनमा नयाँ–नयाँ प्रविधिहरू प्रयोगमा आउने बताए। विद्यालयका विद्यार्थीहरूले समेत मोटरसाइकल निर्माण गर्न थालेको उल्लेख गर्दै उनले यसलाई गौरवको विषय भएको बताए ।
उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।
‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।’ उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’
सरकारको बजेट र मौद्रिक नीतिले अटोमोबाइल व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण बनाएको, पूर्वाधार विस्तार भइरहेको र नेपाल ईभी तथा ग्रिन हाइड्रोजनतर्फ अघि बढिरहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटोमोबाइल बजारले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको भन्दै हाल सुधारको संकेत देखिनु सकारात्मक भएको धारणा राखे। ईभीको बजार विस्तारलाई शुभ संकेतका रूपमा लिँदै उनले युरो–६ सवारी अर्डरमा रहेका व्यवसायीलाई समय दिन आग्रह गरे।
नाडाका अध्यक्ष करण चौधरीले ५० वर्षे यात्रा पूरा गरेको अवसरमा यसपटकको अटो शो विशेष भव्यताका साथ आयोजना गरिएको बताए। उनका अनुसार अटोमोबाइल क्षेत्रमार्फत देशभर करिब १० लाख रोजगारी सिर्जना भएको छ र यसले युवालाई सीप तथा रोजगारीमार्फत देशमै राख्न योगदान दिन सक्छ। यसपटक पहिलो पटक फ्लाइङ कारसहितका नवीनतम प्रविधि प्रस्तुत गरिएको र करिब ४० प्रतिशत बुकिङ नाडा अटो शोमै हुने अपेक्षा गरिएको उनले जानकारी दिए।
प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी ब्रान्ड सहभागी भएका छन्। करिब ३ लाख वर्गफुटमा फैलिएको प्रदर्शनीस्थलमध्ये १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनीका लागि छुट्याइएको छ। १९ वटा चारपांग्रे, १३ हल्का व्यावसायिक, र ४ दुईपांग्रे ब्रान्डले नयाँ मोडेल प्रस्तुत गरेका छन् भने अटो पार्ट्स, ब्याट्री, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायक ३५ कम्पनी सहभागी भएका छन्। युनिट्री रोबोट्सको अत्याधुनिक चारपांग्रे रोबोट, दिपलको ईभीटोल (उड्ने सवारी) र भिन्टेज मोटर शो विशेष आकर्षण बनेका छन्। यसका साथै ‘मेड इन नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै निर्मित सवारी साधन र अटो पार्ट्स देखाइएको छ। प्रदर्शनी अवधिभर ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तर्क्रिया कार्यक्रम सञ्चालन हुनेछन्।
सुरक्षा र सुविधाका लागि प्रदर्शनीलाई विभिन्न जोनमा विभाजन गरिएको छ। खल्ती एपमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था छ भने मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य टोली र सुरक्षा निगरानीको व्यवस्था गरिएको छ।
यसपटकको शोको टाइटल स्पोन्सर एमएडब्लु वृद्धि अर्थात युनिट्री रहेको छ। को–स्पोन्सरमा शिखर इन्स्योरेन्स, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर याङगो, टिकटिङ पार्टनर खल्ती बाई आईएमई, इन्टरनेट पार्टनर वल्र्डलिंक, सर्भिलियन्स पार्टनर सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनर हिमालयन सेफ्टी सोलुसन र हस्पिटल पार्टनर किस्ट हस्पिटल रहेका छन्। हस्पिटालिटी पार्टनर द प्लाजा हो भने डोर प्राइज नेपाल ल्युब आयलले उपलब्ध गराउनेछ।