Logo

यातायात व्यवस्था विभाग र नाडाबीच छलफल, सवारी साधन सम्बन्धी निर्देशिकामा बहस

यातायात व्यवस्था विभाग र नाडाबीच छलफल, सवारी साधन सम्बन्धी निर्देशिकामा बहस



काठमाडौं । सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का विषयमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र यातायात व्यवस्था विभागबीच मंगलबार विस्तृत छलफल सम्पन्न भएको छ ।

मिति २०८२ साल श्रावण १४ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी निर्देशिकाको विभिन्न प्रावधानबारे विस्तृत छलफल गरेको हो । छलफलमा विशेष गरी सवारी साधन आयात, उत्पादन र जडान प्रक्रिया, विद्युतीय सवारी साधनका वारेन्टी–ग्यारेन्टी, सर्भिस सेन्टर र चार्जिङ स्टेसनको पूर्वाधार बनाएर मात्र आयात गर्नुपर्ने प्रस्ताव, ईम्बोस्ड नम्बर प्लेटको अनिवार्यता, प्रयोग भइसकेका ब्याट्री व्यवस्थापन, डकुमेन्टेसन, सर्टिफिकेसन र लोगोको प्रयोग, मोटर क्षमता तथा सिट संख्यामा देखिएको विवाद लगायतका विषय समेटिएका थिए ।

छलफलमा अध्यक्ष चौधरीले निर्देशिका बुँदागत रुपमा छलफल गरी सुधार गर्नुपर्ने धारणा राख्दै यस विषयमा नाडाले थप सुझाव दिने जानकारी दिए । उनले विभागले छलफलका लागि आह्वान गरेकोप्रति धन्यवाद व्यक्त गरे ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकामा रहेका कतिपय बुँदाहरु नेपालकै परिवेशअनुकूल नभएको भन्दै थप व्यावहारिक बनाउनुपर्ने सुझाव दिए । उनले जटिल बुँदाहरुमा अझ थप छलफल आवश्यक रहेको बताए ।

छलफलको समापनमा विभागका महानिर्देशक पोखरेलले नेपालमा सवारी साधनसम्बन्धी स्पष्ट नीति अभाव रहेको कारणले निर्देशिका ल्याउन लागेको जानकारी गराए । उनले सरकार व्यवसायीहरूको पूरक भएर अगाडि बढ्ने पक्षमा रहेको बताउँदै निजी क्षेत्रको योगदान देशको आर्थिक विकासमा महत्वपूर्ण रहेको उल्लेख गरे ।

नाडा अध्यक्ष चौधरीले विभागसँग सहकार्य गर्दै सवारी साधनका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिँदै महानिर्देशक पोखरेलले नाडासँग सहकार्य गरेर मुख्य तीन विषयमा अगाडि बढ्न सकिने धारणा राखे ।

छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सवारी साधन आयातसम्बन्धी व्यवस्थाको विषयमा विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्