काठमाडौं । हालै देशव्यापी रुपमा भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको विषयमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले घटनाबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, जीवन गुमाएका सबैको चिरशान्तिको कामना गरेको छ। घाइतेहरूका शीघ्र स्वास्थ्य लाभको पनि प्रार्थना गरिएको छ।
नाडाले नेपालमा अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको र उपभोक्ता विश्वासमा नकारात्मक प्रभाव परेको बताएको छ। यसले दीर्घकालीन लगानी र रोजगारीमा चुनौती थपेको संघले जनाएको छ
संघले शान्तिपूर्ण सम्वाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै, सरकारलाई व्यवसायिक समुदायको सुरक्षा र अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न आह्वान गरेको छ।
नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, नेपालमा पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त भएकोमा स्वागत गर्दै, आगामी मन्त्रिपरिषद गठन र ६ महिनाभित्र आम निर्वाचन सफल हुने अपेक्षा व्यक्त गरेको छ।