काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणको रूपमा फोटोन टुनल्यान्ड जी–७ पिकअप गाडी आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरिएको छ। पुलचोकस्थित द प्लाजामा आयोजित भव्य समारोहबीच एमएडब्लू वृद्धि कमर्सियलले गाडी सार्वजनिक गरेको हो।
यसअघि टुनल्यान्ड जी–७ले २३ दिनमै ८ वटा अग्ला र कठिन अफ–रोड ट्रेलहरू पार गरी विश्वकै पहिलो पिकअपको रूपमा कीर्तिमान कायम गरिसकेको छ। नेपाल ल्याउनु अघि यो गाडीले १५ हजार किलोमिटरको अफ–रोड परीक्षण पूरा गरेको कम्पनीको दाबी छ।
सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, फोटोनका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्तालगायतले गाडीको नेपाली बजार प्रवेशको स्वागत गरेका थिए।
विवेक सिकारियाले नेपालका चुनौतीहरूको बाबजुद फोटोनसँग सहकार्य गर्ने निर्णय गरिनुको पछाडि रहेको आत्मविश्वास सार्थक भएको बताए। उनका अनुसार नेपालमा हालसम्म १५ सयभन्दा बढी फोटोन गाडी बिक्री भइसकेका छन्, जसमध्ये ५०० भन्दा बढी पिकअप गाडीहरू रहेका छन्। उनले मर्मत र सर्भिसको सन्दर्भमा कुनै सम्झौता नगरिएको उल्लेख गर्दै टुनल्यान्ड जी–७ को मर्मत खर्च अन्य विकल्पहरूभन्दा २० प्रतिशत कम हुने दाबी गरे।
गाडी पहिल्यै बुक गरेका ग्राहकहरूलाई सोही अवसरमा साँचो हस्तान्तरण गरिएको थियो।
टुनल्यान्ड जी–७ पिकअप १६० अश्वशक्ति क्षमता र ३९० एनएम टर्कसहित नेपालका सबै प्रकारका भूभागमा सहज रूपमा गुड्न सक्षम छ। दुई सय पच्चीस मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोल सुविधा, सजिलै थिच्न मिल्ने इञ्जिन स्टार्ट बटन जस्ता आधुनिक प्रविधिहरूले यसलाई थप प्रयोगकर्ता–मैत्री बनाएका छन्।
गाडीको भित्री भागमा १२.३ इन्चको टचस्क्रिन, तातो र चिसो नियन्त्रण हुने १२ किसिमले मिलाउन सकिने इलेक्ट्रिक सिटहरू, प्यानोरामिक सनरूफ र अटोमेटिक एयर कन्डिसनिङ जस्ता सुविधा रहेका छन् जसले लामो यात्रालाई थप आरामदायी बनाउँछ।
टुनल्यान्ड जी–७ तीन भिन्न मोडेलमा उपलब्ध छ। एलिट मोडेलको मूल्य ५१ लाख ९९ हजार, लक्जरी मोडेलको मूल्य ६५ लाख ४० हजार र फ्ल्यागशिप मोडेलको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यो गाडी दुई फरक संस्करणमा उपलब्ध छ – दुई लिटर डिजेल इञ्जिनसहितको चार पाङ्ग्रे ड्राइभ र दुई पाङ्ग्रे ड्राइभ मोडल। दुवैमा उच्च टर्क र इन्धन दक्षता सुनिश्चित गर्न सक्षम इञ्जिन जडान गरिएको छ। यसमा दश दशमलव पच्चीस इन्चको इन्फोटेनमेन्ट प्रणाली, ब्लुटुथ जडान सुविधा, पछाडिको दृश्य देखाउने क्यामेरा, दुईवटा एयरब्याग, एबीएस र ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक सुविधा समावेश छन्।
एमएडब्लू वृद्धि कमर्सियलले फोटोन सवारी साधनको आधिकारिक वितरकको रूपमा नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तरका सवारी साधन ल्याउँदै व्यावसायिक सवारी साधन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। ग्राहक सन्तुष्टि, सेवा सुविधा र दीर्घकालीन मूल्यमा विशेष ध्यान दिँदै कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतामा जवाफ दिँदै आएको छ।
फोटोन टुनल्यान्ड जी–७ नेपाली भूगोल र भावना दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको गाडी हो। यो पिकअप गाडी मात्र नभई नेपाली जनताको परिश्रमी जीवनशैली, आँट र यात्राको उत्सव हो।