काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा फेरि पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार सानेपाबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको सीआईबीले बताएको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका शर्मा यसअघि पनि फरार भएका थिए। उनीलाई २०८० असार १२ गते भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।
सहकारी ठगी बाहेक शर्माविरुद्ध २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत दायर गरिएको प्रहरीले जनाएको छ।