Logo

चार कम्पनीको हकप्रद सेयर बिक्री खुला, कुन कम्पनीको कस्तो छ रेटिङ ?

चार कम्पनीको हकप्रद सेयर बिक्री खुला, कुन कम्पनीको कस्तो छ रेटिङ ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्चमा (नेप्से) मा सूचीकृत ४ कम्पनीको अहिले हकप्रद सेयर बिक्री भइरहेको छ । हकप्रद सेयर बिक्री खुला हुनेमा शिव श्री हाइड्रोपावर, रिभर फल्स पावर, सिटि होटल र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार साउन १५ गतेसम्म कायम सेयरधनीहरुले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले असोज २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । यस होटेलले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।

यस हकप्रद सेयर प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन २६ गतेसम्म कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार बैंकले २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । यसअनुसार यस बैंकले १ सय अंकित मूल्यमा २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ सी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्