काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले गरेको आन्दोलन तत्कालको लागि रोकिएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले गरेको आन्दोलन तत्कालको लागि रोकिएको हो ।
तथापि, दैनिक १ घण्टा धर्ना र पेनडाउन कार्यक्रम भने यथावत रहेको कर्मचारी संगठनले जनाएका छन् । साथै, दुबै कर्मचारी यूनियनका कार्यसमिति सदस्य रहने गरी संयुक्त संघर्ष समिति गठन गर्ने र बोर्डको कार्यलयका गाडीहरु कार्यालयबाट बाहिर जान तथा निस्कन नदिने निर्णय गरेका छन् ।
धितोपत्र बोर्डको स्वायत्ततामाथि प्रश्न उठाउँदै प्रहार भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा मन्त्रालयको मिति २०८२ भदौ ३१ को निर्णय (राजस्व सचिव स्तरीय) बमोजिम कार्यान्वयन गर्न भन्दै पत्र लेखेको थियो ।
उक्त पत्रमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने उल्लेख थियो ।साथै, सरकाको उक्त पत्र आज असोज ८ गतेदेखि असोज १२ गतेसम्म खारेज नभएमा थप कार्यक्रम तय गर्ने उनीहरुले बताएका छन् ।