काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेपाल बीमा प्राधिकरणले आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ।
छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुखहरूले साना बीमा दाबी तत्कालै भुक्तानी गर्न सकिने भए पनि ठूलो दाबी भुक्तानीमा पुनर्बीमकले अग्रिम रकम उपलब्ध गराउनुपर्ने र तरलता व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने सुझाव राखे। साथै, पूर्ण क्षति भएको सम्पत्तिको बीमा दाबीका लागि वडा कार्यालय वा प्रहरीको सिफारिस पाउन कठिन हुने भएकाले न्यूनतम कागजातका आधारमा भुक्तानीको व्यवस्था गर्नुपर्ने धारणा पनि व्यक्त गरियो।
पुनर्बीमा कम्पनीका प्रमुखहरूले बीमकले पठाउने तथ्याङ्क विश्वसनीय हुनुपर्नेमा जोड दिँदै दाबी भुक्तानी प्रक्रियामा सहयोग गर्न पुनर्बीमकहरू तयार रहेको बताए।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालको गैरप्राकृतिक विपत्तिबाट प्रभावित बीमितलाई सहजै दाबी भुक्तानी होस् भनेर बीमा नियमावली, २०८१ अनुसार संक्षिप्त कार्यविधि बनाउन सकिने व्यवस्था रहेको बताउँदै तीन दिनभित्र राय–सुझाव दिन आग्रह गरे। उनले बीमकहरूलाई बीमा दाबी तथ्याङ्क संकलन, फोकल पर्सन तोक्ने, बीमितलाई जानकारी दिने र दाबी भुक्तानी छिटो गराउने निर्देशन पनि दिए।
कार्यक्रममा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, शाम्भराज लामिछाने र बीमा कम्पनीका प्रमुखहरूको सहभागिता थियो।
बीमा सर्भेयर संघसँग छुट्टै छलफल
सोही दिन नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर संघ, नेपालसँग पनि छलफल गरेको छ। संघका पदाधिकारीहरूले न्यूनतम कागजातका आधारमा सर्भे प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, क्षति भएका स्थानमा सहज पहुँच दिलाउनुपर्ने र सर्भेयरलाई बढी जिम्मेवार बनाउनुपर्ने माग राखे।
कार्यकारी निर्देशक सुवेदीले गम्भीर प्रकृतिको विपत्तिको अवस्थामा संक्षिप्त कार्यविधि लागू गर्ने तयारी भइरहेको भन्दै सर्भेयर संघलाई तीन दिनभित्र राय–सुझाव दिन आग्रह गरे।
छलफलमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी, निर्मल अधिकारी, शाम्भराज लामिछाने तथा बीमा सर्भेयर संघका पदाधिकारीहरूको उपस्थिति थियो।