काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल, गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ।
अर्यालले गृहमन्त्रालयका साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन्। यस्तै, घिसिङलाई ऊर्जा मन्त्रालयका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि प्रदान गरिएको छ।
‘यो प्रारम्भिक सूची हो। उनीहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्ने स्रोतले जानकारी दिएको छ । नयाँ मन्त्रीहरुको नियुक्तीपत्र तयार भईसकेको छ । तीनै जना मन्त्रीको शपथ ग्रहण भने भोलि (१५ सेप्टेम्बर २०२५) बिहान हुने बताइएको छ।
कसको पृष्ठभूमि के ?
रामेश्वर खनाल हालै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा आर्थिक सुधारसम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका थिए। उनी पूर्व अर्थसचिव पनि हुन्।
ओमप्रकाश अर्याल कानुन व्यवसायी हुन्। उनले विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण चर्चा कमाएका थिए। पछिल्लो समय उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकारमा बर्खास्तीको सामना गर्नुपरेको थियो।