Logo

प्रिमियममा आईपीओ मोहलाई गिज्याउँदै सोनापुर, सेबोनको गैरजिम्मेवारीले लगातार नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड

प्रिमियममा आईपीओ मोहलाई गिज्याउँदै सोनापुर, सेबोनको गैरजिम्मेवारीले लगातार नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड



काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सोनापुर मिनिरल्स एण्ड आयल कम्पनीको सेयर मूल्यमा लगातार नकारात्मक सर्किट लागेको छ । आइतबार देखि कारोबारमा आएको यस कम्पनीको सेयर मूल्यमा मंगलबारसम्म आउँदा तीन दिनसम्म लगातार नकारात्मक सर्किट लागेको हो ।

laxmi

आईपीओमा लगातार तीन दिनसम्म नकारात्मक सर्किट लागेर सोनापुरले नयाँ रेकर्ड कायम गरेको छ । नेपालको धितोपत्र बजारमा आईपीओ मूल्यमा तगातार तीन दिनसम्म नकारात्मक सर्किट लाग्ने कम्पनी सम्भवतः यही नै पहिलो भएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली बताउँछन । उनका अनुसार यसभन्दा अगाडी कुनै पनि कम्पनीको आईपीओको ओपनिङ मूल्यमा यसरी लगातार नकारात्मक सर्किट लागेको थिएन ।

आइतबार स्पेसल प्रि–ओपनिङ सेसनमा सोनापुरको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुलेको थियो । त्यस दिन यस कम्पनीको सेयर ३५० रुपैयाँलाई आधार मानेर नियमित कारोबार सुरु भएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता १४२.०१ रुपैयाँदेखि ४२६.०३ रुपैयाँसम्म तोकेको थियो ।

यस कम्पनीको सेयर कारोबार ‘एसओएनए’ संकेतका आधारमा सुरु भएको हो । सोनापुरले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित मूल्यमा १३७.५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ पैसाका दरले आइपीओ बिक्री गरेको थियो । सोनापुरको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयर दशैंअघि नेप्सेमा सूचीकृत भएतापनि दशैं बिदाको कारण आइतबारबाट मात्र कम्पनीको सेयर कारोबारमा आएको हो ।

कारोबारमा आएको पहिलो दिन आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले घटेर ३ सय १५ रुपैयाँमा बन्द भएको थियो । सोमबार थप १० प्रतिशत अर्थात ३१.५० रुपैयाँले घटेर २८३.५० रुपैयाँमा कारोबार भइरहेको थियो । मंगलबार पनि यस कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर २५५.२० रुपैयाँमा झरेको छ ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएका कुनै पनि कम्पनीको सेयर मूल्य ओपनिङ प्राईसभन्दा माथि जान सकेको छैन । धितोपत्र बोर्डले सीमित स्वार्थका लागि चलखेल गरेर केही दिनलाई रोक लगाएर पुनः आवेदन खुला गरेको घोराही सिमेन्टमा भने लगानीकर्ताले आईपीओ मूल्यमै स्टपलस गर्नुपरेको छ । धितोपत्र बोर्डको आईपीओमा प्रिमियम मोहका कारण पछिल्लो समय समग्र सेयर बजारमै नकारात्मक असर परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी, प्रिमियम मूल्यमा नै आईपीओ निष्कासन गरेका बीमा कम्पनीलगायत अन्य हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य पनि बढ्न सकेको छैन । नेपाल धितोपत्र बोर्डले खराब अवस्थामा रहेका कम्पनीलाई बढि मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिँदा लगानीकर्ता मारमा परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन ।

‘बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशन स्वीकृति दिँदा लगानीकर्ताको हित हेर्नुपर्छ । उक्त कम्पनीको नेटवर्थ कति छ, प्रतिसेयर मूल्य कस्तो छ ? कम्पनीले भविश्यमा कस्तो प्रगति गर्छ ? आईपीओ स्वीकृति दिँदा सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षित हुन्छ कि हुँदैन भन्ने विषयमा गहन अध्ययन गर्नुपर्छ,’ एक लगानीकर्ताले भने, ‘तर सेबोनले लगानीकर्ताको हितभन्दा पनि आफ्नो स्वार्थ अनुकुल कागजात मिलाएर ज्यादै कम नेटवर्थ भएका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ र आईपीओ निष्काशनको अनुमति दियो ।’

बोर्डको स्वार्थ केन्द्रित निर्णयकै कारण त्यस्ता कम्पनीको सेयर मूल्यमा यसरी लगातार नकारात्मक सर्किट लागेर लगानीकर्ताको लगानी फसेको एक लगानीकर्ताले बताए । साथै पछिल्लो समय बोर्ड सेयर बजारको सुधार र शुदृढिकरण भन्दा पनि आफ्नो स्वार्थ अनुकुल विनाअध्ययन जस्तोसुकै कम्पनीलाई पनि प्रिमियम मूल्यमा आईपीओ स्वीकृति दिएर सेयर बजार धराशायी बनाउने काम गरेको आरोप लगानीकर्ताहरुको छ ।

तर, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्ति श्रेष्ठले भने प्रिमियममा आईपीओ जारी गर्ने कार्य रोक्न नमिल्ने बताए । ‘प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नको लागि बोर्ड तथा नियामक निकायले तोकेको सबै नियम पुरा गरेका कम्पनीलाई नै प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिएको हो,’ उनले भने, ‘कुनै पनि कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्छु भनेर सबै नियम पुर्याएर आउँछ भने त्यसलाई बोर्डले रोक्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL