Logo

पर्यटन विकास र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव आवश्यक : महासंघ उपाध्यक्ष ढकाल

पर्यटन विकास र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव आवश्यक : महासंघ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले अहिलेको खस्किदो व्यापार व्यवसायलाई चलायमा बनाउन मेला महोत्सवको ठूलो भुमिका हुने बताएका छन् । उनले प्रमुख अतिथिको रुपमा पाल्पा महोत्सवको उद्घाटन गर्दै कोभिडपछि देखिएको आर्थिक मन्दीबाट आक्रान्त उद्योग व्यवसायलाई थप चलायमान बनाउन जिल्ला जिल्लामा हुने महोत्सवले ठूलो सहयोग पुर्याउने बताए ।

laxmi

अहिले बजारमा माग घट्दै जाँदा उद्योगी व्यवसायीहरुको उत्पादन समेत बिक्री हुने छाडेको भन्दै मेला महोत्सवको माध्यमबाट त्यसलाई चलायमान बनाउनु पर्ने बताए । ‘ जिल्ला नगरका उद्यमी व्यवसायीको अवस्था एकदमै दयनीय बनेको छ भने कतिपय साना तथा घरेलु उद्योगहरु बन्द भईसकेका छन्,’ उक्त कार्यक्रममा उनले भने, ‘अब हामीले आत्मबल बढाएर उद्योग व्यवसायलाई चलायमान बनाउनुको विकल्प छैन ।’

यसैगरी पछिल्लो समय उच्च बैंक ब्याजदरका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेको भन्दै यस विषयमा समेत महासंघले सरकारसँग लविङ गरे ब्याजदर घटाउन पहल गरिरहेको बताए । ‘कुनै समय हामी उद्योगी व्यवसायीले ७ प्रतिशत ब्याजमा लिएको कर्जाको अहिले बढेर १६÷१७ प्रतिशतसम्म पुगेको छ,’ उनले भने, ‘यसले हाम्रो खर्च दोब्बरले बढाएको छ जसका कारण उद्योगी व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुन वाध्य भएका छन् ।’ साथै अहिलेको अवस्थामा देशको अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको निजी क्षेत्रलाई बचाउन राज्यले विशेष खालका राहतका प्याकेज ल्याउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा उनले लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाएको पाल्पा आन्तरिक तथा बाहृय पर्यटकका लागि महत्वपूर्ण स्थल भएको बताउँदै उद्योग, व्यापार क्षेत्रमा चलायमान बनाउन समेत महोत्सव सफल हुने जानकारी दिए ।

महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरण हुने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराईले बताए । उक्त महोत्सवमा ३ सय स्टल रहेका छन् । कुटिर उद्योग, पाल्पाली ढाका उद्योग, बेकरिज र तन्दुरी आईटम, होटल, तथा विभिन्न गार्मेन्ट, कस्मेटिक, खाद्यान्न, अटोमोबाईल लगायतका स्टल व्यवस्थापन गरेको स्टल संयोजक लक्ष्मण रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL